संगालोखबर


इलाम । चिया खेती र बजार प्रवर्द्धन गर्ने उद्देश्यले यसको उद्गमस्थल इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव आयोजना गरिने भएको छ । इलाम नगरपालिकाको आयोजनामा जेठ २६ देखि २८ गतेसम्म महोत्सव आयोजना हुने भएको हो ।

आयोजक समिति संयोजक एवं इलाम नगरपालिका प्रमुख केदार थापाका अनुसार नेपाली चियाको बजार विस्तारका साथै चिया पर्यटनलाई समेत बढावा दिन महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सवमा नेपाल पर्यटन बोर्डको पनि सहयोग रहने उनले जानकारी दिए । महोत्सवक अवसरमाा अर्थाेडक्स चियाका प्रकार, टेस्टिङसहित विभिन्न स्वाद र जातका तयारी चियाका स्टल राखिने जनाइएको छ ।

Advertisement

यस अवसरमा चिया खेती, यसमा देखिएका समस्या, गुणस्तर, बजारीकरण जस्ता विविध विषयमा अन्तर्क्रियात्मक कार्यक्रम पनि गरिने भएको छ । महोत्सवका अवसरमा चिया किसान, उद्यमी, व्यवसायीका साथै चिया पारखीहरुको सहभागिता हुनेछ ।

वि.सं. १९२० सालमा इलामबाटै चिया रोपण सुरु भएको थियो । वि.सं. १९३५ सालमा नेपालकै पहिलो चिया कारखाना पनि इलाममै स्थापना भएको थियो । चिया खेती विस्तार हुँदै पछिल्लो समय पाँचथर, झापा, धनकुटा, तेह्रथुमलगायत जिल्लामा पनि फैलिएको छ । यसैगरी, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, कास्की, लमजुङ, ललितपुरलगायत जिल्लामा चिया खेती विस्तार भएको छ ।

पूवृमा उत्पादन हुने चिया मुख्यतः भारत निकासी हुने गरेको छ । पछिल्लो समय नेपाली चिया जर्मनी, फ्रान्स, अस्ट्रेलिया, बेल्जियम, बुल्गेरिया, चेक रिपब्लिक, इटाली, जापान, भारत, चीन, अमेरिका, बेलायतलगायतका देशमा चिया निर्यात हुँदै आएको छ ।

इलामको फिक्कलका चिया व्यवसायी दिनेश अग्रवालका अनुसार विषादी प्रयोग नगरिएको अर्ग्यानिक चियाको माग समुद्रपारका मुलुकमा बढेको छ । आर्थिक वर्ष २०८०–८१ को पहिलो चार महिनामा ५७ लाख ७५ हजार किलोभन्दा बढी चिया निर्यात भएको थियो । त्यति चिया निकासीबाट डेढ अर्ब रुपैयाँ आम्दानी भएको तथ्यांक छ ।

चिया तथा कफी विकास बोर्डका अनुसार नेपालमा करिब २७ हजार हेक्टरमा चिया खेती हुन्छ । त्यति क्षेत्रफलमा वार्षिक २३ हजार ७ सय ४५ मेट्रिक टन चिया उत्पादन हुन्छ । चिया खेतीमा १७ हजारभन्दा बढी किसान आबद्ध छन् ।

बोर्डका अनुसार नेपालमा वार्षिक करिब दुई करोड ८० लाख किलो चिया उत्पादन हुँदै आएको छ । उक्त परिमाणमध्ये शून्य दशमलव ५० प्रतिशत चिया मात्र आन्तरिक बजारमा खपत हुने गरेको तथ्यांक छ । नेपालमा उत्पादित चियामध्ये करिब ९९ प्रतिशत कोशी प्रदेशमा उत्पादन हुन्छ ।

नेपालमा अर्थोडक्स चिया उत्पादन गर्ने ३० र सिटिसी चिया उत्पादन गर्ने ३८ गरी ६८ वटा ठूला चिया उद्योग सञ्चालनमा छन् । यसैगरी अर्थोडक्स चिया उत्पादन गर्ने एकसय ५० वटाभन्दा बढी साना प्रशोधन उद्योग सञ्चालनमा छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!