सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटामा बुधबारदेखि प्रदेशस्तरीय औद्योगिक प्रदर्शनी, कृषि मेला एवं फुड फेष्टिबल–२०८१ सुरु भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघले धनकुटा नगरपालिका–६ स्थित औद्योगिक ग्राममा मेला आयोजना गरेको हो ।

Advertisement

मेलाको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पानसका दीप प्रज्वलन तथा रिवन काटेर उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले धनकुटामा एक सय शैय्याको अस्पताल बनाउन प्रदेश सरकारले २०८३ साल सम्ममा काम गरी सक्ने बताए ।

उनले अस्पताल बनेपछि धनकुटाका छिमेकी जिल्लाका बासिन्दाले पनिसहज तरिकाले उपचार गराउन पाउने बताए । मुख्यमन्त्री कार्कीले कोशी प्रदेशकै पहाडी जिल्लाको पर्यटकीय प्रवर्द्धन गर्नका लागि आर्थिक वर्ष २०८०–८१ भित्रै प्रशासनिक कार्यालय स्थापना गर्ने बताए ।

त्यस्तै, आगामी महिनाभित्र मुख्यमन्त्रीको सम्पर्क कार्यालय धनकुटामा मन्त्रिपरिषद् बैठक बसेर जिल्लाका लागि महत्वपूर्ण निर्णय गर्ने उनले बताए । औद्योगिक ग्राममा थप विकास गर्न, संरचना थप, न्यूनतम विकासका कुरा, मजदुरका लागि आवास र कर्मचारी आवास लगायतका भौतिक पूर्वाधारहरुमा जोड दिइने उनले बताए ।

विदेशबाट आयात हुने फूललाई रोक लगाई धनकुटामै उत्पादन गर्न, सौन्दर्यका सामग्री र मेडिकल लगायतका सामान उत्पादन गर्न धनकुटा नगरपालिकालगायत अन्य पालिकाहरुलाई पनि कोशी प्रदेश सरकारले रकम छुट्याउने मुख्यमन्त्री कार्कीले बताए ।

मेलामा कोशी प्रदेशका साना तथा घरेलु उद्योगबाट उत्पादित वस्तुको प्रदर्शनी र बिक्रीका साथै मनोरञ्जनात्मक प्रस्तुतिहरु रहने घरेलु तथा साना उद्योग महासंघ धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले बताए ।

मेलामा घरेलु उत्पादन, स्थानीय खानाका परिकार र स्थानीय आठपहरिया जातिको खानाका परिकार गरी जम्मा ३० वटा स्टल रहने छन् । मेलाको २० हजार आन्तरिक पर्यटकले अवलोकन गर्ने र २ करोडको कारोबार हुने अपेक्षा रहेको आयोजकले जनाएको छ । धनकुटाको औद्योगिक ग्रामलाई प्रवर्द्धन गर्दै आर्थिक गतिविधि बढाउने उद्देश्यले मेला आयोजना गरिएको घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका प्रमुख ईश्वर थापाले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!