मोहन ढकाल/संगालोखबर


विराटनगर । मोरङको ग्रामथान–४ स्थित महेन्द्र माध्यमिक विद्यालयद्वारा संरक्षित ऐलानी जग्गामा सामुदायिक भवन निर्माण गर्ने विषय विवादमा परेको छ । कोशी प्रदेशसभा सदस्य ललिता चौधरीले गत आइतबार शिलान्यास गरेको सामुदायिक भवन निर्माण विवादमा परेको हो । वर्षैंदेखि विद्यालयले संरक्षण गरिरहेको ऐलानी जग्गामा वडा कार्यालय आफैँले भवन निर्माणको तयारी गरेपछि विवाद उत्पन्न भएको हो ।

विद्यालयले भवन निमाँणको तयारी गरिरहेको जग्गामा गत आइतबार वडाले शिलान्यास गराएपछि हाल उक्त विषय जिल्ला प्रशासन कार्यालयसम्म पुगेको छ । भवन निर्माणका निम्त्ति जग्गामा रहेको रुख कटान गर्नुपर्ने भएपछि विद्यालय व्यवस्थापन समितिले रुख कटान कार्य रोक्का गरी पाउँ भनी जेठ ४ गते मोरङ प्रशासनमा निवेदन समेत दिएको थियो ।

Advertisement

मोरङ प्रशासनले वडा कार्यालयलाई सोही अनुसारको पत्राचार गरेको थियो । तर प्रशासनको पत्राचार विपरीत रुख उखेलेर भवन निर्माण गर्ने उद्देश्यका साथ ग्रामथान–४ का वडाध्यक्ष बद्रीनारायण माझीले आइतबार भवनको शिलान्यास गराएका थिए । वडाध्यक्ष माझी २०५८ सालतिर सोही विद्यालयमा व्यवस्थापन समितिका अध्यक्ष थिए । त्यसबेला उनले विद्यालयको नाममा रहेको जग्गा भन्दै त्यहाँ बसेको बस्ती उठाएर फरर्वाड नेपालबाट हस्तान्तरण गराएका थिए ।

खाली भएको जग्गामा उनले वृक्षारोपण समेत गराएका थिए । तर उनै माझीले अहिले स्कुलको पूर्वपट्टि रहेको उक्त १८ कठ्ठा जग्गामा पालिकाको हक लाग्ने भन्दै आफूखुसी सामुदायिक भवन निर्माणको शिलान्यास गराएका हुन् । विद्यालय सञ्चालक समितिका अध्यक्ष करमवाल गच्छदार भन्छन्, ‘पहिले स्कुलकै जग्गा हो भनेर संरक्षण र वृक्षारोपण गरियो । अहिले विद्यालयले भवन निर्माणको तयारी गरेपछि पालिकाको हक लाग्ने भन्दै हस्तक्षेप गर्ने कार्य भइरहेको छ ।’

आफ्नो संरक्षणमा रहेको जग्गाले आफैँले प्रयोग गर्न नपाएको गुनासो विद्यालयको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेत भवन निर्माणको योजना समेटिएपछि विद्यालयले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको काम सुरु गरेको थियो ।

तर वडाध्यक्षको मिलेमतोमा पालिकाले डीपीआरसँगै बजेट पनि रोक्का गरिदिएको आरोप विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गच्छदारको छ । उनका अनुसार तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माझीकै अध्यक्षतामा २०६७ भदौ १७ गते बसेको बैठकले सो जग्गा स्कुलको हुनेगरी निर्णय गरेको थियो ।

त्यसबेला नागरिक अगुवा, अभिभावक, शिक्षक–विद्यालय सञ्चालक समितिका पदाधिकारीले १२ कक्षासम्म पठनपाठन गर्नेगरी सो जग्गा फरवार्ड नेपालसँग लिएको गच्छदारको दाबी छ । विद्यालयका प्रधानाध्यापक गजेन्द्रप्रसाद चौधरीका अनुसार सामुदायिक भवन निर्माणका लागि गाउँपालिकाबाट २५ लाख र कोशी प्रदेश सरकारबाट २५ लाख गरी ५० लाख रुपैयाँ बजेट विनियोजन भएको थियो ।

जसका लागि विद्यालयले डीपीआर का लागि पालिकासमक्ष निवेदन दिएको थियो । तर वडाध्यक्षको अग्रसरतामा डीपीआरसँगै पालिकाको बजेटर खारेज भएको प्रअ चौधरी बताउँछन् । ‘उहिल्यैदेखि हामीले हाम्रै जग्गा भनेर संरक्षण गर्यौं, अहिले स्कुलको आम्दानीमा वृद्धि गर्ने भनेर भवन निर्माणको तयारीमा थियौं । तर वडाध्यक्षले हस्तक्षेप गर्नुभयो । भवन निर्माणको माग राखेर सामूहिक निवेदन पनि दिएका थियौं । बदनियतस्वरूप निवेदनमै केरमेट गर्नुभयो ।’

त्यसबेला विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक संघ, आमा समूह लगायतले सामूहिक रूपमा निवेदन दिएका थिए । तर वडाध्यक्षले पालिकाको स्वामित्वमा रहेको जग्गा स्कुलले उपयोग गर्न नपाउने भन्दै निवेदनमा केरमेट गरेको कागजात संगालोखबरलाई प्राप्त भएको छ । अहिले सम्पूर्ण कागजात लिएर शिक्षक–व्यवस्थापन समितिका पदाधिकारी जिल्ला प्रशासन कार्यालय धाइरहेका छन् । शिलान्यासभन्दा अघिल्लो दिन नै प्रहरी चौकी मोतिपुरमार्फत् वडा कार्यालयमा जिल्ला प्रशासन कार्यालयको चिठ्ठी पुगेको थियो ।

रुख काट्न नहुने भन्ने व्यहोरा उल्लेख भएको पत्र पाए पनि वडाध्यक्ष रुख उखेलेर शिलान्यास गर्ने पक्षमा थिए । तर आदेशविपरीत काम गर्न नहुने भन्दै प्रहरीले रुख उखेल्न दिएन । ‘शिलान्यासको अघिल्लो दिन उहाँले पत्र पाउनुभयो,’ एक प्रहरीले भने, ‘पछि, विद्यालय व्यवस्थापन समिति र वडाध्यक्षबीच मौखिक सहमति भएपछि शिलान्यास भएको हो ।’

सामुदायिक भवन निर्माणको काम सकेर विद्यालयलाई हस्तान्तरण गर्ने प्रलोभनमा पारी मौखिक सहमति गराउन बाध्य पारिएको प्रअ चौधरीको गुनासो छ । ‘त्यसबेला हामीलाई नै सञ्चालन गर्न दिनेगरी कुरा भएको थियो, अहिले त्यसमा शंका उत्पन्न भएको छ,’ उनले भने ।

रुख नकाट्ने गरी भवन निर्माण गर्ने प्रतिबद्धता वडाध्यक्षले जनाए पनि निर्माणका क्रममा रुख विनास हुने अनुमान प्रअ चौधरीको छ । ‘हामीले त्यति मेहनतले हुर्काएका रुखहरूमा क्षति पुग्ने निश्चित छ,’ उनी भन्छन्, ‘नकाटे पनि जरैदेखि ढल्छन्, ती रुखहरू ।’ यता, वडाध्यक्ष माझीले भने आफूले कुनै पनि पत्र नपाएको बताए । ‘मैले कुनै पनि पत्र पाएको छैन । हामीले रुख नकाटी भवन निर्माण गर्दैछौं । जहाँसम्म त्यसको स्वामित्व र आम्दानीको विषय छ, त्यो अहिले नै निर्क्यौल गर्न सकिँदैन ।’

ऐलानी जग्गा पालिकाको अधिनमा रहने बताउँदै वडाध्यक्ष आफूअनुकूल सामुदायिक भवन शिलान्यास गरिएको सुनाए । विद्यालयको कम्पाउन्ड बाहिरको जग्गा भएकाले यसमा वडाको हक लाग्ने उनको भनाइ छ । ‘त्यो जग्गा नितान्त वडाको हो, उहाँहरूले बेकारको बखेडा झिकिरहनुभएको छ,’ उनले भने, ‘मैले बदनियत राखेर पालिकाको बजेट काटेको होइन । समपूरक बजेटमा रकम अपुग भएर त्यो खारेज भएको हो ।’

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!