मोहन ढकाल/संगालोखबर

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ४ र ५ स्थित जामुनगाछीका बासिन्दाले आइतबार हुलाकी सडक खण्ड बन्द गरेका छन् । गणेश चोकदेखि केसलिया खोलासम्मको सडकमा ठाउँठाउँमा बाँस तेर्स्याएर सवारी साधन आवागमनमा अवरोध गरेका हुन् ।

Advertisement

लामो समयदेखि सडक र नाला नबन्दा समस्या भोग्न बाध्य भएको भन्दै स्थानीयले अनिश्चितकालका लागि सडक अबरुद्ध गरेको बताएका छन् । बिगतमा नेता बहिष्कार अभियान सञ्चालनसँगै चाँडो सडक निर्माण हुनुपर्ने माग राख्दै स्थानीयले पटक–पटक सडक बन्द गर्दै आएका थिए । तर पनि माग सम्बोधन हुन सकेको छैन ।

नाला र सडक निर्माणमा सम्बन्धित निकायले चासो नदेखाउँदा पुनः सडक बन्द गर्न बाध्य हुनुपरेको स्थानीय उत्तम दाहालले बताए । उनले भने, ‘आज त यो सुरुवात मात्र हो । भोलिदेखि थप कडाइका साथ हामी कदम चाल्ने छौँ ।’ सडकमा उड्ने धुलोका कारण श्वासप्रश्वाससम्बन्धी समस्याले सताएको उनले बताए ।

उनले भने, ‘हाम्रो क्षेत्रबाट जितेर गएका संघीय र प्रदेश सांसदले समेत सडक र नाला निर्माणमा कुनै चासो देखाएका छैनन् । विगतमा नेता बहिष्कार अभियान चलाउँदा हामी जसरी पनि समस्या समाधान गर्छौं भनेका थिए । तर अहिले आएर कुनै खोजखबर नै छैन । अब पनि सुनुवाइ नभए नेता लखेट्नुपर्ने अवस्था पनि आउन सक्छ ।’

सडक अवरुद्ध हुँदा आवत–जावतमा समस्या भएको सवारी चालकहरू बताउँछन् । जनकपुरबाट गाडी लिएर आएका जयनारायण पासवान भन्छन्, ‘हुलाकी सडक हुँदै जान लागेको, सडक बन्द भएर फेरि फर्कनुपर्ने अवस्था आयो ।’

स्थानीय लक्ष्मण घिमिरे सडक र नाला निर्माणमा ढिलाइका कारण आफूहरूले सवारी साधन आवत–जावत ठप्प पार्न बाध्य भएको बताउँछन् । सम्बन्धित निकायले यथाशीघ्र बाटो निर्माणमा भएको अवरोध हटाउन नसके थप आन्दोलन गर्न बाध्य हुने उनको भनाइ छ ।

एक दशकको अवधिमा पनि करिब ३ किलोमिटर सडक र नाला निर्माणले गति लिन नसक्दा स्थानीयहरू आजित भएका छन् । सुख्खायाममा धुलो र वर्षातमा हिलोको समस्याले समस्या हुने गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!