सतहमा पौडेर मात्र के थाहा पाउनु गहिराइमा डुब्नै पर्छ
जमिनमा गुडेर मात्र पुगिँदैन टाढा आकाशमा उड्नै पर्छ
अगाडि बढ्न सक्दैनन् ती अल्छी गर्ने र सन्तोष लिनेहरू
आफैँ गुडेर खुट्टामा आउँदैन भकुण्डो खेलाडी कुद्नै पर्छ ॥

सधैँ हाम्रा पूर्खाहरू खोला धाउँदैन तिर्खा धाउँछ भन्थे
टुप्पी कसेर पढ्नुपर्छ अनि मात्र फरर भन्न आउँछ भन्थे
अरूले आफूलाई ठूलो ठानुन् भन्ने नठान्नु नानी किनकि
जसले अरूको सम्मान गर्छ त्यसले सम्मान पाउँछ भन्थे ॥

कि आफैँ जान्नु कि भनेको मान्नु भलो मति मात्र लिनु
सुनेका पढेका देखेका भोगेकाबाट राम्रा जति मात्र लिनु
अल्छी गरेर बस्दै अरूहरूको प्रगतिमा डाहा गरेर हुँदैन है
उद्देश्य प्राप्त गर्न गन्तव्य नपुगुञ्जेल द्रुतगति मात्र लिनु ॥

मान्छे आफैँ ठूलो हुँदैन अरूको लागि केही गरेको हुनुपर्छ
काम क्रोध लोभ मोह अहंकारहरूबाट पर सरेको हुनपर्छ
खानु सुत्नु उठबस र हिँडडुल त सबै प्राणीहरूले गर्दछन्
मान्छे बन्न उसको दिमाग प्रज्ञालङ्कारले भरेको हुनुपर्छ ॥

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!