संगालोखबर

काठमाडौं । ट्रान्स वुमनहरुको बौद्धिक तथा सौन्दर्य प्रतियोगिता स्वरुप आयोजना गरिएको ‘मिस पिंक २०२४’ को उपाधिको ताज झापाकी अनमोल राईले पहिरिएकी छन् । १८ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै झापाको दमककी राईले मिस पिंकको उपाधि उचालेकी हुन् । राईले १ लाख रुपैयाँ पुरस्कार समेत पाएकी छन् ।

Advertisement

ब्लु डाइमण्ड सोसाइटीले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको हक अधिकारका लागि आयोजना गर्दै आएको मिस पिंकको उपाधि विजेता राईले नेपालको प्रतिनिधित्व गर्दै थाइल्यान्ड जाने अवसर समेत पाउने भएकी छन् ।

प्रतियोगिताबाट ७५ हजार रुपैयाँ राशिको फस्ट रनर अपको उपाधि सरोजी न्यौपानेले पाएकी छन् । ५० हजार रुपैयाँ राशिको सेकेन्ड रनरअपको उपाधि आरोही बस्नेतले पाएकी छन् । लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायमाथि हुने घृणाविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसर पारेर ब्यूटी ट्यालेन्ट प्रतियोगिताको फाइनल राउन्ड नाचघरमा सम्पन्न भएको थियो ।

१८ जना प्रतिस्पर्धीमध्ये पहिलो चरणमा टप टेन सार्वजनिक गरिएको थियो । टप टेनमा सामग्री बोगटी, आरोही बस्नेत, अनमोल राई, पल्लबी मगर, प्रियंका न्यौपाने, सायरा गुरुङ, अविना कटवाल, ल्याकमी गिरी, सरोजी न्यौपाने र सुदिपा सुब्बा परेका थिए । टप टेनमा परेकामध्ये सुदिपा सुब्बा, अनमोल राई, प्रियंका न्यौपाने, सरोजी न्यौपाने र आरोही बस्नेत टप फाइभमा परेका थिए ।

विश्व स्वास्थ्य सङ्गठनले समलिङ्गी हुनु मानसिक रोग नभएको घोषणा गरेको अवसरमा मिस पिंक आयोजना गरिएको आयोजक व्लु डाइमण्ड सोसाइटीले जनाएको छ । राइट हेयर राइट नाउ, एड्स हेल्थकेयर फाउन्डेसन नेपालको सहयोगमा आयोजित कार्यक्रममा सरकारका स्वास्थ्य सचिव डा. रोशन पोखरेलले समुदायका मुद्दा स्थापित गराउन सौन्दर्य प्रतियोगिता उपयोगी भएको बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!