संगालोखबर

विराटनगर । विश्व उच्च रक्तचाप दिवसका अवसरमा आज विराटनगरस्थित नोवेल मेडिकल कलेज टिचिङ हस्पिटलले चेतनामूलक र्‍याली आयोजना गरेको छ । मे १७ का दिन यो दिवस विश्वभरि मनाइँदै आएको छ ।

Advertisement

उच्च रक्तचापको जोखिम, यसलाई रोक्न अपनाउनु पर्ने विधिसम्बन्धी जनचेतना फैल्याउने उद्देश्यले यो दिवस मनाइँदै आएको छ । यसै सन्दर्भमा नोवेलले आज बिहान विराटनगरको महेन्द्रचोकबाट तिनपैनीसम्म चेतनामूलक र्‍याली आयोजना गरेको थियो ।

नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका अस्पताल निर्देशक तथा वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. राजेश नेपालले विराटनगर महानगरपालिका मेयर नागेश कोइरालालाई खादा र पुष्पगुच्छाले स्वागत गरेपछि कार्यक्रम सुरु भएको थियो ।

कार्यक्रममा नोवेलका चिकित्सक, कर्मचारी, रेजिडेण्ट चिकित्सक, इन्टर्न चिकित्सक र विद्यार्थीहरुको सहभागिता थियो । प्रभातफेरीमा पत्रकार, समाजसेवी र स्थानीय बासिन्दा पनि सहभागी भएका थिए ।

कार्यक्रम समापनका अवसरमा प्रा. डा. नेपालले विश्व उच्च रक्तचाप दिवसको विषयमा जानकारी दिएका थिए । विराटनगरका मेयर कोइरालाले उच्च रक्तचापसम्बन्धी जनचेतना फैल्याउने उद्देश्यले नोवेलले गरेको कार्यक्रमको प्रशंसा गरे ।

विश्व भरिनै मानिसको मृत्युको प्रमुख कारणहरु मध्ये उच्च रक्तचाप एक नम्बरमा रहेको मानिन्छ । मानिसको बदलिँदो दैनिकी, खानपान, पर्याप्त मात्रामा नसुत्ने र तनावयुक्त जीवनले उच्च रक्तचापको जोखिमलाई बढाउने गरेको विज्ञहरुको भनाइ छ ।

नेपालको सन्दर्भमा हरेक चार जनामध्ये एक जनालाई उच्च रक्तचाप रहेको पाइएको छ । उच्च रक्तचापको कारण हृदयघात, मस्तिष्कघात हुने, शरीरको विभिन्न अङ्गमा समस्या आउने, हातखुट्टाका नशाहरु बन्द भएर अङ्गभङ्ग हुने, आँखाको दृष्टि कम हुने, मृगौलामा समस्या आउने, यौन दुर्वलता हुने जस्ता विभिन्न समस्याहरु आउने गर्दछ ।

नियमितरुपमा रक्तचाप नाप्ने गरिएमा उच्च रक्तचाप भए नभएको वा औषधि सेवन गरी रहेका व्यक्तिहरुको रक्तचापको अवस्था थाहा पाउन सहज हुन्छ र समयमा नियन्त्रण गर्न सकिन्छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!