सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटा नगरपालिका–६ र ७ वडाका किराना पसल तथा हार्डवेयर पसलहरुमा अनुगमन गरी ४७ हजार रुपैयाँभन्दा बढीको सामान जफत गरिएको छ । आज मंगलबार बजार क्षेत्रमा रहेका आधा दर्जनभन्दा पसलहरुमा अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा बजारमा म्याद गुज्रेका खाद्य सामान पाइएको थियो । त्यस्तै, बढी मूल्य लिएको गुनासोका आधारमा धनकुटा बजारमा रहेका केही किराना पसल, डिलर, ग्यास डिलर, हार्डवेयर पसलहरुको अनुगमन गरिएको हो ।

Advertisement

अनुगमनका क्रममा उपभोग्य मिति सकिएका खाद्यवस्तु नष्ट गरिनुका साथै मूल्यसूची अनिवार्य टाँस गर्न निर्देशन दिइएको छ । त्यस्तै, बजारमा ग्यास विक्रेताबाट बढी मूल्यमा रकम लिई ग्यास बिक्री गरेको गुनासो आएका कारण अनुगमन गरिएको धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीले बताए ।

सम्बन्धित डिलरबाहेक अन्य पसलहरुले बिना इजाजत ग्यास बेच्न नपाउने भएकाले धनकुटा बजारमा रहेका हार्डवेयर पसलमा अनुगमन गरिएको थियो । अनुगमनमा बजार क्षेत्रमा रहेका हार्डवेयर पसललाई ग्यास बेचविखन नगर्न भनिएको थियो ।

त्यस्तै, हार्डवेयर पसलमा म्याद गुज्रेका रङरोकन र केमिकल फेला परेका थिए । अनुगमनका क्रममा ४७ हजार रुपैयाँभन्दा बढीका बस्तु फ्याँकेर नष्ट गरिएको सहायक प्रमुख अधिकारी रायमाझीले बताए ।

अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय, घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधि सहभागी थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!