मोहन ढकाल/संगालोखबर
फाइल तस्वीर ।

विराटनगर । बिहान ११ बजेका लागि बोलाइएको कोशी प्रदेशसभाको बैठक बस्न ढिलाइ भएको छ । बजेट अधिवेशनको पहिलो बैठकबाट मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने तयारी छ ।

प्रदेशसभा सचिवालयले आज बिहान ११ बजे बैठक बस्ने जानकारी दिएको थियो । बैठकमा मुख्यमन्त्री कार्कीले दर्ता गराएको विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची तय भएको जनाइएको थियो । यसैगरी, बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङबाट अधिवेशन आह्वान भएको पत्र पढेर सुनाउने कार्यसूची छ ।

Advertisement

नेकपा एमाले संसदीय दलका नेता कार्की एमालेका ३९ र माओवादी केन्द्रका १३ गरी ५२ जना सांसदको समर्थनमा संविधानको धारा १६८ को उपधारा (५) अनुसार गत बिहीबार मुख्यमन्त्री नियुक्त भएका थिए ।

९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४७ जनाको समर्थन आवश्यक पर्छ । कार्कीलाई एमालेसहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपालका सांसदले विश्वासको मत दिने भएका छन् ।

विश्वासको मतको प्रस्तावमा राप्रपा भने तटस्थ बस्ने भएको छ । प्रदेश संसदीय दलको बैठकले तटस्थ बस्ने निर्णय गरेको दलका नेता भक्तिप्रसाद सिटौलाले बताएका छन् ।

कोशी प्रदेशसभामा एमालेका उपसभामुखसहित ४०, नेपाली कांग्रेसका २९, माओवादीका १३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ६, नेकपा (एकीकृत समाजवादी) का ४ र जसपाका १ जना सांसद छन् ।

सरकार गठनको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै नेपाली कांग्रेस केन्द्रीय पदाधिकारी बैठकले प्रदेशसभा अवरुद्ध गर्न प्रदेश समिति र कोशी प्रदेश संसदीय दललाई निर्देशन दिएपछि प्रदेशसभाको बैठक बस्ने विषयमा अलमल भएको बताइएको छ ।

नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दललाई केन्द्रीय पदाधिकारी बैठकले प्रदेशसभा अवरुद्ध गर्न निर्देशन दिएको छ । कांग्रेस केन्द्रीय प्रचार विभाग प्रमुख मीन विश्वकर्मा आउँदै गरेकाले उनकै प्रतीक्षामा रहेको कांग्रेसका एक नेताले जानकारी दिए ।

बिहानैदेखि बस्ने भनिएको कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठक पनि बस्न ढिलाइ भएको छ । बैठकले प्रदेशसभामा सहभागी हुने, नहुने वा के गर्ने भन्ने विषयमा निर्णय गर्ने नेताहरुले बताएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!