संगालोखबर


विराटनगर । कोशी प्रदेशको अधिवेशन आज बस्दैछ । आज मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिँदैछन् । यसका लागि प्रदेश सभा सचिवालयले कार्यसूची प्रकाशित गरेको छ । बिहान ११ बजे पाँचौं अधिवेशनको पहिलो बैठक बस्ने तय भएको हो । बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङबाट अधिवेशन आह्वान भएको पत्र पढेर सुनाउने कार्यसूची छ ।

प्रदेशसभा सचिवालयका अनुसार मुख्यमन्त्री कार्कीले विश्वासको मतका लागि प्रस्ताव पेश गर्नेछन् । उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । नेकपा एमाले संसदीय दलका नेता कार्की नेकपा एमालेका ३९ र माओवादी केन्द्रका १३ गरी ५२ जना सांसदको समर्थनमा संविधानको धारा १६८ को उपधारा (५) अनुसार गत बिहीबार मुख्यमन्त्री नियुक्त भएका हुन् ।

Advertisement

९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४७ जनाको समर्थन आवश्यक पर्छ । एमालेको उपसभामुखसहित ४०, नेपाली कांग्रेसका २९, माओवादीका १३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ६, नेकपा (एकीकृत समाजवादी) का ४ र जसपाका १ जना सांसद छन् ।

त्यसै दिन उनले एमालेका राम राना र माओवादीका गणेश उप्रेतीलाई मन्त्री नियुक्त गरिसकेका छन् । विश्वासको मत लिएपछि मन्त्रिपरिषदलाई पूर्णता दिने उनले बताएका छन् । प्रदेशसभाको आजको बैठकका सम्बन्धमा रणनीति बनाउन नेपाली कांग्रेसको बैठक बस्दैछ । सरकार गठनसम्बन्धी विषय अदालतमा विचाराधीन रहेको अवस्थामा हतारमा विश्वासको मत लिन खोजिएको कांग्रेसको भनाइ छ ।

एउटा सरकार हुँदाहुँदा नयाँ सरकार गठनको आह्वान गरेर प्रदेश प्रमुखले असंवैधानिक काम गरेको भन्दै निवर्तमान मुख्यमन्त्री केदार कार्कीका तर्फबाट सर्वोच्च अदालतमा रिट दायर भएको थियो । उक्त रिटको सुनुवाइ जेठ ९ गते हुँदैछ । रिट निवेदनमा अन्तरिम आदेशमार्फत प्रदेश प्रमुखको नयाँ सरकार गठनसम्बन्धी आह्वानलाई बदर गर्न माग गरिएको छ । यसैगरी, कार्कीले आफूलाई मुख्यमन्त्रीमा निरन्तरता दिन माग गरेका छन् । नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्रीको काम कारबाही नगर्न नगराउन र आफूलाई मुख्यमन्त्रीको जिम्मेवारी बहाल गर्न अवरोध नगर्न, नगराउन समेत अन्तरिम आदेश माग गरिएको छ ।

प्रदेश सभाले पास गरेको संकल्प प्रस्तावअनुसार २५ वैशाखभित्र मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत नलिएपछि प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका थिए । त्यसपछि एमाले संसदीय दलका नेता कार्कीले ५२ जना सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । सांसदहरुको सनाखत गरी प्रदेश प्रमुख खापुङले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!