संगालोखबर


विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भोलि प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । यसका लागि उनले त्यसम्बन्धी प्रस्ताव संसद सचिवालयमा दर्ता गरिसकेका छन् ।

उनलाई कुन कुन पार्टीका सांसदले विश्वासको मत देलान् भन्ने यकिन भइसकेको छैन । केही पार्टीहरुले भने यसबारे धारणा सार्वजनिक गरिरहेका छन् । एकीकृत समाजवादी पार्टीले विश्वासको मत नदिने भएको छ । प्रदेशसभामा प्रतिनिधित्व गर्ने अर्को दल राप्रपाले विश्वासको मत दिने कि नदिने भन्ने टुंगो गरिसकेको छैन ।

Advertisement

सर्वाेच्च अदालतमा नयाँ सरकार गठनविरुद्ध रिट दायर भएपछि मुद्दा विचाराधीन अवस्थामा रहेका बेला विश्वासको मत लिन खोजिएको भन्दै मुख्यमन्त्रीले विश्वासको मत लिने बैठकमा समाजवादी पार्टी अनुपस्थित रहने भएको छ ।

अदालतमा मुख्यमन्त्री विरुद्धको मुद्दा विचाराधीन अवस्थामा रहेको बेला विश्वासको मत लिन खोज्नु गलत भएको समाजवादी कोशी प्रदेश संसदीय दलका नेता राजेन्द्रकुमार राईको भनाइ छ ।

यसैबीच, राष्ट्रिय प्रजातन्त्र पार्टीले मुख्यमन्त्री कार्कीलाई समर्थन गर्ने या नगर्ने भन्ने विषयमा निर्णय गरेको छैन । राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले आफ्नो दलले भोलि सोमबार बिहान बैठक बसेर निर्णय दिने बताए ।

यस्तै, जनता समाजवादी पार्टी नेपालकी सांसद निर्मला लिम्बूले सरकारलाई विश्वासको मत दिने बताएकी छन् । एमालेका उपसभामुखसहित ४० र माओवादीका १३ जना सांसदको समर्थनमा कार्की वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

कोशी प्रदेशमा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपा नेपालका १ सांसद छन् । मुख्यमन्त्री कार्कीको नियुक्ति प्रक्रियाविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । उक्त रिटको जेठ ९ गते सुनुवाइ हुने भएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!