सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । झापाको बिर्तामोड युनाइटेड फुटबल क्लब यहाँ आज सम्पन्न शहीद भीमनारायण गोल्डकपको च्याम्पियन बनेको छ । विभागीय टिम सशस्त्र प्रहरीको एपीएफलाई ३–० गोल अन्तरले हराउँदै झापाले उपाधि चुमेको हो ।

Advertisement

निकै प्रतिस्पर्धात्मक रहेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । दोस्रो हाफ सुरु भएको छैटौं मिनटमा झापाका आशिष चापागाईंले गोल गर्दै आफ्नो टिमका लागि खाता खोलेका थिए ।

एक गोलको अग्रता पाएपछि झन् आक्रामक बनेको झापाका लागि अभिषेक गुरुङले अर्को एक गोल थपेका थिए । त्यसको केही बेरपछि झापाका देवेन्द्र गुरुङले तेस्रो तथा निर्णायक गोल गरेका थिए ।

प्रतियोगिताको उपाधि विजेता झापाले नगद ५ लाखसहित ट्रफी प्राप्त गर्यो । उपविजेता एपीएफले २ लाख ५० हजारमा चित्त बुझायो ।

खेल अवधिभर दुवै टिमले निकैवटा अवसर पाए पनि त्यसलाई गोलमा परिणत गर्न भने सकेनन् । केही फ्री किक अनि केही कर्नर किकको अवसरलाई उनीहरुले सदुपयोग गर्न सकेनन् । एपीएफले अन्तिम समयतिर पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्न नसक्दा गोलको अन्तर घटाउन सकेन ।

झापा आयोजक धनकुटालाई ० का विरुद्ध ३ गोल अन्तरले हराउँदै फाइनलसम्म आइपुगेको थियो । यस्तै, राष्ट्रिय जागृति क्लव सुनसरीलाई टाइब्रेकरमा ३–२ गोल अन्तरले पाखा लगाउँदै विभागीय टिम सशस्त्र प्रहरीको एपीएफले फाइनलमा स्थान पक्का गरेको थियो ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीका रुपमा झापाका आशिष चापागाईंले पुरस्कार प्राप्त गरे । आजको खेलका उत्कृष्ट खेलाडी उपविजेता एपीएफका प्रदीप लामा बने ।

यसपटक प्रतियोगितामा विभिन्न आठवटा टिमको सहभागिता थियो । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब काठमाडौं, एपीएफ फुटबल क्लब काठमाडौं, फोरस्टार युवा क्लब मोरङ र राष्ट्रिय जागृति क्लब इटहरी, बुटवल लुम्बिनी फुटबल क्लब, बिर्तामोड युनाइटेड झापा, सहलेश युवा क्लब सिरहा र आयोजक टिमले प्रीतस्पर्धा गरेका थिए ।

शहीद भीमनारायण श्रेष्ठको स्मृतिमा २०५५ सालबाट सुरु भएको प्रतियोगिताको यो १६ औं संस्करण हो । हरेक वर्ष सञ्चालन हुँदै आएको प्रतियोगिता कोरोना महामारीका कारण यसअघि केही वर्ष सञ्चालन हुन सकेको थिएन ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!