संगालोखबर


विराटनगर । सुनसरीको चतराधाममा एक महिनाअघि सुरु भएको १२ वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला समापन भएको छ । विधिवत रुपमा पूजा एवं स्नान गरी मेलाको हिजो समापन गरिएको हो ।

हिन्दु समुदायका लागि विशेष महत्वको मानिने यो मेला गत चैत २७ गते सुरु भएको थियो । यो अवधिमा ४० लाखभन्दा बढी श्रद्धालु भक्तजनले मेलामा सहभागिता जनाएको आयोजकले दाबी गरेका छन् ।

Advertisement

आयोजक समितिका उपाध्यक्ष किसन थापाका अनुसार मेलाका क्रममा ४० लाखभन्दा बढी भक्तजनले कुम्भस्नान तथा वराह भगवानको दर्शन गरेका थिए । प्राचीन हरिद्वारका नामले समेत प्रसिद्ध चतराधाममा २०५९ सालदेखि पूर्णमहाकुम्भ मेला आयोजना हुँदै आएको छ । चतराधाममा प्रत्येक ६ वर्षमा अर्धकुम्भ र १२ वर्षमा पूर्णकुम्भ मेला लाग्ने गरेको छ ।

मेलाका अवसरमा देशैभरिबाट भक्तजनहरु आउने जाने क्रम चलेको आयोजकले जनाएका छन् । यसैगरी, भारतका विभिन्न स्थानबाट पनि भक्तजनहरु सहभागी भएका थिए ।

भारतबाट साधु सन्त र विभिन्न धार्मिक प्रतिष्ठानका अगुवाहरु समेत आएर बराहक्षेत्रमा आयोजित धार्मिक क्रियाकलापमा सहभागी भएका थिए । मेला आयोजना गर्न संघीय सरकारले ७० लाख र कोशी प्रदेश सरकारले ५५ लाख प्रदान गरेको थियो । मेलाको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरेका थिए ।

समापनका अवसरमा कुम्भस्नान गर्न जगतगुरु बालसन्त मोहनशरण देवाचार्य, कोशी प्रदेशसभा सदस्य इस्रायल मन्सुरी, मुख्यसचिव वैकुण्ठ अर्याल, बागमती प्रदेशका सचिव हुमकला पाण्डे, सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलगायत सहभागी भएका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!