संगालोखबर

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकामा शुक्रबारदेखि दोस्रो संस्करणको अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु भएको छ । सहिदभूमि गाउँपालिकाको आयोजनामा पिप्लेस्थित पञ्चकृष्ण माध्यमिक विद्यालयको खेल मैदानमा पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु भएको हो ।

Advertisement

गाउँपालिका अध्यक्ष मनोज राईले खेलाडीलाई बल हस्तान्तरण गरेर प्रतियोगिता उद्घाटन गरेका छन् । सो अवसरमा अध्यक्ष राईले पालिकाभित्र खेलाडी उत्पादन बढाउँन र खेल क्षेत्रको विकास गर्न प्रतियोगिता आयोजना गरिएको बताए ।

प्रतियोगिताको पहिलो दिन महिलातर्फ एक र पुरुषतर्फ दुई खेल भएका छन् । उद्घाटन खेलमा पञ्चकृष्ण माध्यमिक विद्यालयलाई पराजित गर्दै कन्यादेवी माध्यमिक विद्यालय विजयी भएको छ ।

दोस्रो खेलमा ठाकुरदेवी माध्यमिक विद्यालयलाई हराउँदै जीवनसुधालय माध्यमिक विद्यालयले जित हासिल गरेको छ । तेस्रो खेलमा सहिदभूमि-७ लाई पाखा लगाउँदै सहिदभूमि-३ ले विजयी सुरुवात गरेको छ ।

शनिवार छ वटा खेल खेलाइने गाउँपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख मनोज पौडेलले जानकारी दिए । चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ १४ र महिलातर्फ १३ टिम सहभागि छन् ।

महिला र पुरुष दुवैतर्फका विजेताले ५५ हजार, उपविजेताले ३५ हजार र तृतीय हुनेले २० हजार नगद पुरस्कार पाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन कार्कीले जानकारी दिए । सहिदभूमिमा गत वर्षबाट अध्यक्ष कप भलिबल प्रतियोगिता सञ्चालन गर्न थालिएको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!