संगालोखबर

विराटनगर । कोशी प्रदेश सरकार गठन प्रक्रियाविरुद्ध परेको रिट निवेदनमाथि सर्वाेच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश हरिप्रसाद फुयालको इजलासले जेठ ९ गते अर्को सुनुवाइको मिति तोकेको छ ।

Advertisement

फुयालको इजलासले ५ बुँदे आदेश जारी गरेको छ । इजलासले दुवै पक्षलाई छलफलमा बोलाउन भनेको छ । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले आफूलाई हटाउने निर्णय असंवैधानिक भएको भन्दै हिजो बिहीबार रिट दायर गरेका थिए ।

रिट निवेदनमा कार्कीले अन्तरिम आदेशमार्फत प्रदेश प्रमुखको नयाँ सरकार गठनसम्बन्धी आह्वानलाई बदर गर्न माग गरिएको छ । यसैगरी, कार्कीले आफूलाई मुख्यमन्त्रीमा निरन्तरता दिन माग गरेका छन् । नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्रीको काम कारबाही नगर्न नगराउन र आफूलाई मुख्यमन्त्रीको जिम्मेवारी बहाल गर्न अवरोध नगर्न, नगराउन समेत अन्तरिम आदेश माग गरिएको छ ।

प्रदेश सभाले पास गरेको संकल्प प्रस्तावअनुसार २५ वैशाखभित्र मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत नलिएपछि प्रदेश प्रमुख खापुङले बुधबार मध्यरातमा संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका थिए ।

त्यसपछि हिजो बिहान एमाले संसदीय दलका नेता कार्कीले ५२ सांसदको समर्थनसहित दाबी पेस गरेका थिए । उनलाई समर्थन गर्ने सांसदहरुको सनाखत गरेपछि प्रदेश प्रमुखले हिजै मुख्यमन्त्रीमा नियुक्त गरिसकेका छन् ।

तेस्रो पटक मुख्यमन्त्री बनेका कार्कीले शपथ ग्रहण गरी पदभार समेत सम्हालिसकेका छन् । उनले इलामबाट प्रतिनिधित्व गर्ने एमालेका राम राना र मोरङबाट प्रतिनिधित्व गर्ने माओवादी केन्द्रका गणेश उप्रेतीलाई बिना विभागीय मन्त्री नियुक्त गरेका छन् ।

 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!