सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । झापाको बिर्तामोड युनाइटेड फुटबल क्लब यहाँ जारी शहीद भीमनारायण गोल्डकप फुटबलको उपाधिनजिक पुग्न सफल भएको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा आयोजक धनकुटालाई ३–० गोलले निराश पार्दै झापा फाइनलमा पुगेको हो ।

Advertisement

आज विजयी हुँदै बिर्तामोड युनाइटेडले विभागीय टिम सशस्त्र प्रहरीको एपीएफसँग फाइनलमा भेट पक्का गरेको छ । बिर्तामोड युनाइटेडले पहिलो हाफमा एक गोलको अग्रता बनाएको थियो । बिर्तामोडका जर्सी नम्बर ५ का अनिश लिम्बूले खेलको ४३औँ मिनटमा गोल गर्दै खाता खोलेका थिए ।

पहिलो हाफमा विपक्षीविरुद्ध ‘फल’ गरेका झापाका ९ नम्बर जर्सीधारी आशीष चापागाईंले ३७औँ मिनटमा पहेँलो कार्ड पाएका थिए । खेलको ४५औँ मिनटमा आयोजक धनकुटाका गोलकिपर सन्दिप लिम्बूले झापाका खेलाडीलाई डिबक्सभित्र फल गरेपछि रातो कार्ड पाएर बाहिरिएका थिए । त्यसपछि धनकुटा १० खेलाडीमा सीमित भएको थियो ।

पहिलो हाफ १–० कै अवस्थामा सकिएको थियो । दोस्रो हाफको दोस्रो मिनटमा झापाका ११ नम्बर जर्सीधारी खेलाडी अभिषेक गुरुङले टिमका लागि अर्को गोल थपेका थिए ।

२–० को अग्रता लिएको झापाका लागि खेलको ६६औँ मिनटमा आत्मघाती गोल उपहार प्राप्त भयो । आयोजक धनकुटाका जर्सी नम्बर ४ लगाएका पदम भट्टराईले आत्मघाती गोल गरेका थिए । घरेलु मैदानमा दर्शकको व्यापक समर्थन पाएको आयोजक धनकुटाले फाइनलमा पुग्ने अवसर गुमाएको छ ।

यसअघि हिजो भएको पहिलो सेमिफाइनल खेलमा राष्ट्रिय जागृति क्लव सुनसरीलाई टाइब्रेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै विभागीय टिम सशस्त्र प्रहरीको एपीएफले फाइनलमा स्थान पक्का गरिसकेको छ ।

प्रतियोगिताको फाइनल खेल भोलि शनिबार हुनेछ । प्रतियोगिताको उपाधि विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजारसहित ट्रफी मेडल, कप, प्रमाणपत्र हात पार्नेछन् ।

सबैभन्दा बढी गोल गर्ने, म्यान अफ द म्याच तथा सर्वोत्कृष्ट खेलाडीले पनि नगद पुरस्कार पाउने आयोजक समिति संयोजक शम्भु प्रधानले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!