संगालोखबर

विराटनगर । आरोहण गुरुकुलको आयोजनामा विराटनगरमा दुई दिने विराट वाङ्मय उत्सव सुरु भएको छ । विराटनगर महानगरपालिकाको प्रवर्द्धनमा उत्सव सुरु भएको हो ।

Advertisement

उत्सवको आज विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । विराटनगरसहित कोशी प्रदेशको भाषा, साहित्य, संस्कृति र कलालाई जोड्ने उद्देश्यका साथ उत्सव सुरु भएको आयोजक संस्थाका अध्यक्ष भैरव क्षेत्रीले जानकारी दिए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले भौतिक विकाससँगै भाषा, साहित्य, संस्कृति र कलाको विकासमा महानगरपालिकाले काम गरिरहेको बताए ।

उद्घाटन सत्रमा वरिष्ठ कवि कुन्ता शर्माले समाज रुपान्तरणमा साहित्यको अहम् भूमिका हुने बताइन् । शर्माले साहित्य लेखनको विषयवस्तु फराकिलो हुँदै गएको चर्चा गरिन् । उनले आफ्नो पालामा महिला कवि साहित्यकार न्यून भए पनि पछिल्लो समय केही मात्रामा बढेको भन्दै खुसी व्यक्त गरिन् ।

उत्सवको पहिलो दिन दिवंगत कविहरूका कवितासमेत वाचन गरिएको थियो । कवि हरिभक्त कटवालको रहर मुकुन्द प्रयास, हिरा आकाशको ‘अक्षरहरू’ मीनकुमार नवोदित, विमल गुरुङको ‘आगो बल्दैछ’ उमेश लुइँटेल, माधवप्रसाद घिमिरेको ‘वैशाख’ मञ्जुश्री गिरी, कृष्ण पाख्रिनको ‘जैनी सुतेकी छे ! नानी सुतेकी छे’ प्रयाग न्यौपाने, ईश्वरवल्लभको ‘मेरो सपना छन्’ विवेक विवश रेग्मी, लक्ष्मीप्रसाद देवकोटाको ‘हुरीको गीत’ भरत गुरागाईं बर्बरिक, वानिरा गिरीको ‘म च्याचिएको पोष्टर’ विवश पोखरेल, सानुमती राईको ‘जल्न देऊ बल्न देऊ’ रोमा निरौला र भूपी शेरचनको ‘पहिरो जाने पहाडमुन्तिर’ शीर्षकको कविता खेम नेपालीले वाचन गरेका थिए ।

ती कविताहरू मुकुन्द प्रयास, विनोदकुमार चौधरी, अभिषा घिमिरे, युवराज रिजाल, एलन शाक्य, महेन्द्र राई, सञ्जय धिताल (सयल), गणेश लामा, यशोदाकुमारी सिंह र रवि बस्नेतले क्यानभासमा उतारेका थिए ।

त्यसैगरी ‘कता रुमलियो विराट विरासत ?’ शीर्षकमा बहससमेत भएको थियो । सो बहसमा विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्की, उद्योगी ताराचन्द खेतान र लेखक तथा विश्लेषक दिनेश श्रेष्ठ सहभागी भए ।

पत्रकार महाप्रसाद खतिवडाले सहजीकरण गरेको बहसमा विराटनगरको शाख फर्काउनुपर्नेमा जोड दिइयो । त्यस्तै पत्रकार टेकेन्द्र अधिकारीले सहजीकरण गरेको ‘नेपाली भाषा बहाव’ शीर्षकको बहसमा केदार शर्मा, लता पौड्याल निरौला र विष्णु एस राईले आ–आफ्ना विचार राखेका थिए । हेमन्त बुढाथोकी, सोनु जयन्ती र दीपा पोखरेल ‘मञ्चमा म’ शीर्षकको बहसमा सहभागी भए । सो बहसमा सुमन लिङ्देनले सहजीकरणको भूमिका निर्वाह गरेका थिए ।

शुक्रबारको अर्को कार्यक्रमअन्तर्गत ‘भोलि बास्ने कवि : सम्झनामा कृष्णभूषण बल प्रस्तुत गरिएको थियो । कवि मनु मञ्जिलले सहजीकरण गरेको सो कार्यक्रममा वरिष्ठ कवि जसराज किरातीले कृष्णभूषण बललाई स्मरण गरे । ‘नेपाली साहित्य सिर्जनाका नवीनतम् आयामहरू’ शीर्षकको बहसमा हाङ्युग अज्ञात, देवान किराती र शुभलक्ष्मी लम्साल आमुन्नेसामुन्ने भएका थिए । कार्यक्रमको सहजकर्ता कवि केजी सुब्बा थिए ।

पहिलो दिनको अन्तिम सेसनमा सुदीप पाख्रिन, हेमन यात्री, विमल वैद्य, रोशन परियार, मनु विश्वकर्मा, सुष्मा दाहाल, सगुन सुसारा, अनिशा रम्तेल, टीका आत्रेय, सविता गौतम दाहाल, जीवन आरोही, विनिता बोगटी र पराजित पोमुले प्रतिनिधि कविता वाचन गरे ।

दोस्रो दिन शनिबार मातृभाषी कविता वाचन, राजनीति र साहित्यः साहित्यमा राजनीति, योगवाणी र योगमाया, आख्यानमा चरित्र निर्माणः परिकल्पना र प्रस्तुति, पात्र र लैंगिकता, समकालीन रचना वाचन, गजल गुञ्जनलगायतका कार्यक्रम हुने अध्यक्ष क्षेत्रीले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!