सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटामा जारी भीमनारायण गोल्डकपको आजको पहिलो सेमिफाइनल खेलमा विजयी हुँदै विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ फाइनल प्रवेश गरेको छ ।

राष्ट्रिय जागृति क्लव सुनसरीलाई टाइब्रेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै एपीएफ उपाधिनजिक पुगेको हो । खेलको निर्धारित समय गोलरहित बराबरीमा टुंगिएको थियो । त्यसपछि खेलको छिनोफानो टाइब्रेकरबाट गरिएको हो ।

Advertisement

निकै प्रतिस्पर्धात्मक बनेको खेलको मध्यान्तरपछि आक्रामक रुपमा प्रस्तुत भएको एपीएफले राष्ट्रिय जागृतिलाई दबावमा राख्न सफल भएको थियो । दुवै टिमले केही अवसरहरु पाए पनि त्यसलाई गोलमा परिणत गर्न भने सकेनन् ।

भोलि शुक्रबार हुने दोस्रो सेमिफाइनल खेलमा झापाको बिर्तामोड युनाइटेड क्लब झापा र आयोजक शहीद भीमनारायण स्मृति प्रतिष्ठानको टिमबीच प्रतिस्पर्धा हुनेछ । विभागीय टिम त्रिभुवन आर्मी क्लब काठमाडौंलाई १–० गोल अन्तरले हराउँदै बिर्तामोड युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको हो । त्यस्तै, सल्हेस युथ क्लब सिरहालाई १–० गोल अन्तरले हराउँदै आयोजक टिम अन्तिम चारमा पुग्न सफल भएको हो ।

यी दुवै सेमिफाइनल खेलका विजेताबीच फाइनल खेल आगामी शनिबार हुनेछ । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफी मेडल, कप, प्रमाणपत्र हात पार्नेछन् । प्रतियोगितामा सबैभन्दा बढी गोल गर्ने, म्यान अफ द म्याच तथा सर्वोत्कृष्ट खेलाडीले पनि नगद पुरस्कार पाउने आयोजक समितिका संयोजक शम्भु प्रधानले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!