मोहन ढकाल/संगालोखबर


विराटनगर । नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकारको तेस्रो पटक नेतृत्व गर्ने अवसर पाएका छन् । उनलाई आज प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

कार्कीले एमाले र माओवादी केन्द्रका समेत गरी प्रदेशसभाका ५२ जना सदस्यहरुको समर्थनसहित आजै मुख्यमन्त्रीमा दावी प्रस्तुत गरेका थिए । ९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ।

Advertisement

उनको समर्थनमा रहेका प्रदेशसभा सदस्यहरुको हस्ताक्षर सनाखत गर्ने लगायत प्रक्रिया पूरा गरेपछि प्रदेश प्रमुख खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

एमालेका ३९ र माओवादी केन्द्रका १३ जना प्रदेश सभा सदस्यलाई आफ्नै उपस्थितिमा सनाखत गराएर प्रदेश प्रमुखले सनाखत गराएका थिए ।

मुख्यमन्त्रीका रुपमा कार्कीको आजै ५ बजे शपथ ग्रहण गराउने तयारी छ । शपथ ग्रहणपछि कार्कीले सानो आकारको मन्त्रिपरिषद गठन गर्ने जनाइएको छ ।

झापा क्षेत्र नम्बर ५ (क) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका कार्की यसअघि दुई पटक मुख्यमन्त्री बनिसकेका छन् । उनी २०७९ पुस २४ गते तथा २०८० भदौ २२ गते मुख्यमन्त्री बनेका थिए ।

केन्द्रमा राजनीतिक समीकरण फेरबदल भइरहँदा उनले पूरा कार्यकाल काम गर्न भने पाएनन् । यसपटक पनि एमाले र माओवादी लगायत दलबीच गठबन्धन बनेपछि प्रदेश सरकारको नेतृत्व परिवर्तन हुने अवस्था आएको हो ।

यसैबीच, प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्रीका लागि गएराति दावी प्रस्तुत गर्न आह्वान गरेसँगै काम चलाउ मुख्यमन्त्री बनेका केदार कार्की संघीय राजधानी काठमाडौं गएका छन् ।

एउटा सरकार हुँदाहुँदै प्रदेश प्रमुखले अर्को सरकार गठनका लागि आह्वान गर्नु असंवैधानिक भएको दावीसहित सर्वोच्च अदालतमा रिट दायर गर्न उनी काठमाडौं गएका हुन् ।

प्रदेश प्रमुखको आह्वान खारेजी र संविधानको धारा १६८ को ५ अनुसार आफू नेतृत्वको सरकारको निरन्तरता माग गर्दै सर्वोच्चमा रिट दायर गर्ने उनले काठमाडौं जानु अघि बताएका थिए ।

उनी २०८० असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । नेपाली कांग्रेसका ८ सांसदसहित विद्रोह गरेका कार्कीलाई त्यस बेला एमालेका ३९ सांसदले समर्थन गरेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!