संगालोखबर

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दावी पेश गर्ने तयारी गरेका छन् । उनले एमाले र माओवादी केन्द्रका सहित गरी ५२ जना सांसदको समर्थनमा दावी पेश गर्ने तयारी गरेका हुन् ।

Advertisement

प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ अनुसार गएराति नयाँ सरकार गठनको आह्वान गरेका थिए । त्यसअनुसार आजै कार्कीले दावी पेश गर्ने उनीनिकट स्रोतले जनाएको छ ।

यसअघि दुई पटक मुख्यमन्त्री बनिसकेका कार्कीले केन्द्रमा भएको राजनीतिक गठबन्धन र सत्ता समीकरणमा फेरबदलका कारण पूरा समय काम गर्न पाएका थिएनन् । उनी २०७९ पुस २९ मा पहिलो पटक मुख्यमन्त्री बनेका थिए । त्यसबेला उनलाई माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन थियो । केन्द्रमा सत्ता समीकरण फेरिएपछि २०८० असार १४ मा उनले राजीनामा दिएका थिए ।

सर्वोच्च अदालतको परमादेशपछि २०८० भदौ २२ मा ठूलो दलको नेताको हैसियतमा उनी फेरि मुख्यमन्त्री बनेका थिए । राजनीतिक गठबन्धन फेरिने र नयाँ बन्ने क्रमसँगै मुख्यमन्त्रीहरु पनि फेरिने क्रम जारी रहँदा कार्कीले २० असोजमा राजीनामा दिएका थिए ।

पछिल्लो पटक केन्द्रमा नेकपा एमाले र माओवादी केन्द्रसहितको नयाँ गठबन्धन बनेपछि प्रदेश सरकारहरु पनि परिवर्तन र हेरफेर भइरहेका छन् । त्यही असरका कारण कोशी प्रदेशमा पनि सरकार परिवर्तन हुन लागेको हो । कार्कीले दावी पेश गरेपछि उनका समर्थकको सनाखत गराएर प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई मुख्यमन्त्री नियुक्त गर्नेछन् ।

यसैबीच, हालका मुख्यमन्त्री केदार कार्कीले प्रदेश प्रमुखले सरकार हुँदाहुँदै अर्को सरकार गठनको प्रक्रिया सुरु गरेर प्रदेश प्रमुखले असंवैधानिक काम गरेको आरोप लगाएका छन् । उनले उक्त कदमविरुद्ध अदालतमा चुनौती दिने भएका छन् । सर्वोच्च अदालतमा यसबारे रिट निवेदन दिन उनी आजै काठमाडौं जाने भएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!