सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । आयोजक धनकुटा टिम यहाँ जारी शहीद भीमनारायण गोल्डकप फुटबलको अन्तिम चारमा प्रवेश गरेको छ । आज भएको खेलमा सिरहाको सहलेस युवा क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै आयोजक सेमिफाइनल पुग्न सफल भएको हो ।

Advertisement

आयोजक टिमका तर्फबाट दोस्रो हाफको २५ औँ मिनेटमा जर्सी नम्बर १० का खमिर गिल्सन कन्दङ्वाले गोल गरेका थिए । उनको त्यही गोल आजको खेलका लागि निर्णायक बन्यो । आजको खेलमा बेस्ट किपरका रुपमा आयोजक टिमका प्रदिप भण्डारी घोषित भए । उनले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताअन्तर्गत पहिलो सेमिफाइनल खेल भोलि विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ क्लब काठमाडौं र राष्ट्रिय जागृति क्लब सुनसरीबीच हुनेछ । यी दुई टिमबीचको प्रतिस्पर्धा कडा हुने देखिन्छ ।

त्यस्तै, दोस्रो सेमिफाइनल खेलमा शुक्रबार झापाको बिर्तामोड युनाइटेड क्लब र आयोजक धनकुटा टिम भिड्ने छन् ।

दुवै सेमिफाइनल खेलका विजेता टिमले आगामी २९ गते हुने फाइनल खेल खेल्ने आयोजक समितिका संयोजक शम्भु प्रधानले जानकारी दिए ।

यसअघि मंगलबार बुटवल लुम्बिनी फुटबल क्लब र राष्ट्रिय जागृति क्लवबीच भएको खेलमा राष्ट्रिय जागृति क्लब विजयी बनेको थियो । ट्राइब्रेकरबाट छिनोफानो गरिएको खेलमा बुटवल लुम्बिनी फुटबल क्लबलाई ५-४ गोलले पराजित गर्दै जागृतिले अन्तिम चारमा स्थान बनाएको हो ।

प्रतियोगितामा ८ टिमको सहभागिता छ । प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफी मेडल, कप, प्रमाणपत्र हात पार्नेछन् । सबैभन्दा बढी गोल गर्ने, म्यान अफ द म्याच तथा सर्वोत्कृष्ट खेलाडीले पनि नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!