धनकुटा । धनकुटामा जारी १६ औँ संस्करणको शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज आयोजक टिम धनकुटा र सल्हेस फुटबल क्लब सिरहा भिड्दै छन् । खेल दिउँसो ३ बजेबाट तल्लो टुँडिखेलमा सुरु हुनेछ ।
प्रतियोगिताअन्तर्गत पहिलो सेमिफाइनल खेल भोलि विभागीय टीम सशस्त्र प्रहरीको एपीएफ क्लब काठमाडौं र राष्ट्रिय जागृति क्लब सुनसरीबीच हुनेछ । यी दुई टिमबीचको प्रतिस्पर्धा कडा हुने देखिन्छ ।
त्यस्तै, दोस्रो सेमिफाइनल खेलमा शुक्रबार झापाको बिर्तामोड युनाइटेड क्लब र आज जित्ने टिम भिड्ने छन् । दुवै सेमिफाइनल खेलका विजेता टिमले आगामी २९ गते हुने फाइनल खेल खेल्ने आयोजक समितिका संयोजक शम्भु प्रधानले जानकारी दिए ।
यसअघि मंगलबार बुटवल लुम्बिनी फुटबल क्लब र राष्ट्रिय जागृति क्लवबीच भएको खेलमा राष्ट्रिय जागृति क्लब विजयी बनेको थियो । ट्राइब्रेकरबाट छिनोफानो गरिएको खेलमा बुटवल लुम्बिनी फुटबल क्लबलाई ५–४ गोलले पराजित गर्दै जागृतिले अन्तिम चारमा स्थान बनाएको हो ।
प्रतियोगितामा ८ टिमको सहभागिता छ । प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफी मेडल, कप, प्रमाणपत्र हात पार्नेछन् ।
सबैभन्दा बढी गोल गर्ने, म्यान अफ द म्याच तथा सर्वोत्कृष्ट खेलाडीले पनि नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।