मोहन ढकाल/संगालोखबर

विराटनगर । पछिल्लो समय विराटनगरमा छिनछिनमा विद्युत् कटौती हुने गरेकाले सर्वसाधारणले दुःख पाएका छन् । अचाक्ली गर्मीको समयमा पटक–पटक विद्युत् कटौती हुँदा सास्ती भोग्नु परेको छ ।

Advertisement

दिनदिनै बढ्दै गएको गर्मीले सताइरहेका बेला बिजुली आपूर्ति छिनछिनमा बन्द हुँदा निसास्सिने गरेको उपभोक्ता बताउँछन् । ‘बाहिर निस्किसक्नु छैन, घरभित्र बस्दा बिजुली नभएर पंखा चलाउन पाइँदैन’ विराटनगर–४ की कविता गुरागाईंले भनिन्, ‘यस्तै बेलाचाहिँ किन बिजुली वितरण व्यवस्थित नगरिएको होला ?’

केही दिनयता विराटनगरसहित तराई क्षेत्रमा गर्मी निकै बढेको छ । ३९–४० डिग्री सेल्सियसको हाराहारीमा तापक्रम बढ्दा जनजीवन प्रभावित भइरहेको छ । अत्यधिक गर्मीका कारण सार्वजनिक स्थलहरुमा सर्वसाधारणको चहलपहल पनि कम देखिन थालेको छ । गर्मीकै कारण बिरामी पर्ने क्रम पनि बढिरहेको छ ।

विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रले पूर्वजानकारी बिना नै विद्युत काट्दा विराटनगरबासी समस्यामा पर्ने गरेका हुन् । विद्युत आउने जाने समस्याले कतिपय विद्युतीय उपकरणमा समेत क्षति हुने गरेको महानगरबासीको गुनासो छ ।

यो समस्या समाधान हुन पानी नै पर्नुपर्ने विराटनगर वितरण केन्द्रको भनाई छ । ‘विराटनगरमा जति विद्युत आवश्यक हो, त्यति अहिलेपनि खपत भइरहेको छ’, विराटनगर वितरण केन्द्रका प्रमुख सरोजकुमार भन्छन्, ‘विद्युतको अभावले हैन प्राविधिक कारणले यस्तो भएको हो । पानी परेपछि बाहिरबाट खरिद गर्नुपर्दैन । त्यसपछि यो समस्या अन्त्य हुन्छ ।’

प्राविधिक कारणले यस्तो भएको हुँदा ग्राहकलाई सूचना दिने अवस्था समेत नभएको उनले बताए । उनले भने, ‘लामो समय कटौती हुँदा त हामीले सूचना दिएकै छौँ । तर यस्तो समस्थामा सूचना दिन समेत सम्भव हुँदैन ।’

भारतबाट आउने सय मेगावाट विद्युत बेलुका नआउने र विभिन्न सिस्टम मिलाउनु पर्ने हुँदा बेलाबेला यस्तो समस्या आउने गरेको उनको भनाई छ ।

उनका अनुसार उद्योगहरूमा बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म मात्र विद्युत् उपलब्ध गराईँदै आएको छ भने बेलुका भारतबाट आउने विद्युत कटौती हुँदा उद्योगलाई पनि कटौती गर्नुपरेको हो ।

उद्योग बाहेक बेलुकाको समयमा विराटनगरमा आवश्यक पर्ने जति नै विद्युत खपत भइरहेको उनको भनाई छ । विराटनगर वितरण केन्द्रले विराटनगर, कटहरी, ग्रामथान, बुढीगंगा र जहदा गाउँपालिका क्षेत्रमा विद्युत आपूर्ति गर्दै आएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!