रबिन कटेल/संगालोखबर

धनकुटा । धनकुटाको भेडेटारमा आइतबारबाट ११ औं फुड फेस्टिभल सुरु भएको छ । अंग्रेजी नयाँ वर्ष २०२४ सुरुवातको अवसर पारेर होटल एशोसिएसन भेडेटारले तीन दिने फुड फेस्टिभल अर्थात खाना महोत्सव आयोजना गरेको हो ।

Advertisement

कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री गणेशप्रसाद उप्रेतीले फेस्टिभल उद्घाटन गरेका छन् । फेस्टिभल उद्घाटन गर्दै मन्त्री उप्रेतीले भेडेटारसहित आसपास क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न प्रदेश सरकारले सहयोग गर्ने धारणा राखे । ‘तराईसहित छिमेकी मुलुक भारतका मानिसहरूको रिफ्रेस सेन्टर जस्तो बनेको छ भेडेटार, यो धेरै पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो,’ मन्त्री उप्रेतीले भने, ‘भेडेटारसहित आसपास क्षेत्रको पर्यटन प्रवर्द्धनलाई प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गर्नेछ ।’

कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्ग, साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली, उद्योग वाणिज्य संघका अध्यक्ष विजयसन्तोषी राई लगायतले फेस्टिभलले भेडटारसहित आसपास क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । भेडेटार, कोशी प्रदेशको प्रमुख पर्यटकीय स्थल हो । यहाँ नेपालका विभिन्न जिल्लासहित छिमेकी मुलुक भारतबाट पनि ठूलो सङ्ख्यामा पर्यटकहरू आउँने गरेका छन् । चिसो र प्राकृतिक सुन्दरताले भरिपूर्ण भेडेटार आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ । यहाँको पर्यटन प्रवर्द्धनमा थप सहयोग पुर्याउने उद्देश्यले फेस्टिभल आयोजना गरिएको हो । फेस्टिभल उद्घाटनका अवसरमा भेडेटारमा विभिन्न जातीय झाँकीहरू पनि प्रदर्शन गरिएको छ ।

फेस्टिभलमा १५ वटा स्टल निर्माण गरिएको छ । जसमा स्थानीय जातीय खानाका परिकार, अर्गानिक तरकारी तथा फलफूल, हस्तकला, कृषि तथा घरेलु सामाग्री बिक्री तथा प्रदर्शनीका लागि राखिएको छ । फेस्टिभलमा हरेक दिन स्थानीय तथा राष्ट्रिय कलाकारहरूको साथमा सांस्कृतिक कार्यक्रम हुनेछ । गायिका एलिना चौहानसहितका कलाकारहरूले प्रस्तुती दिनेछन् ।

३० हजार भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउँने लक्ष्य राखिएको फेस्टिभलमा एक करोड बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको आयोजक होटल एशोसिएसन भेडेटारका अध्यक्ष तुमराज लिम्बूले जानकारी दिए ।

फेस्टिभलमा आउने पर्यटकलाई साँगुरीगढी, पाथिभरा मन्दिर, शंखेश्वर महादेवको मन्दिर, नाम्जे, नमस्ते झरना, शैलुङडाँडा, आत्मा बस्ने घर, थुम्की, बौद्धविहार, गुम्बा, अजङ्गको बरको रूख, ध्वजेडाँडा लगायत पर्यटकीय स्थलहरू घुमाउने प्याकेज बनाइएको छ । फेस्टिभलको अवसरमा भेडेटारका होटलहरुले खाना र बस्नमा १५ प्रतिशतसम्म छुटको व्यवस्था गरेका छन् ।

यसैबीच, भेडेटारसहित आसपास क्षेत्रको प्रचारप्रचार गरी पर्यटन प्रवर्द्धनमा भूमिका निर्वाह गरेको भन्दै धनकुटाका पत्रकार विदुर खवास र सुनसरीकी पत्रकार जमुना श्रेष्ठलाई फेस्टिभलमा सम्मान एवं पुरस्कृत गरिएको छ ।   

तस्वीर: सन्तोष सुवेदी/संगालोखबर

भिडियो रिपोर्ट हेर्नुहोस्…

यसअघि प्रकाशित…

आजबाट भेडेटार फुड फेस्टिभल, पर्यटन मन्त्री उप्रेतीले उद्घाटन गर्ने

भेडेटार फुड फेस्टिभलको तयारी पुरा

भेडेटारमा ११ औं फुड फेस्टिभल हुने 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!