संगालोखबर सम्बाददाता

अछाम । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले अछाम जिल्लाका तीन स्थानमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट नौ हजार भन्दा बढी विरामी लाभान्वित भएका छन् । पञ्चदेवल विनायक नगरपालिका, मंगलसेन नगरपालिका र कमलवजार नगरपालिकामा पाँच दिन सञ्चालन गरिएको शिविरमा ९ हजार १ सय ७८ बिरामीले निःशुल्क उपचार पाएका हुन् ।

Advertisement

पञ्चदेवल विनायक नगरपालिकासँग सहकार्य गरेर विनायकमा सञ्चालन गरिएको दुई दिने शिविरमा ३ हजार ७ सय ६२ बिरामीको निःशुल्क उपचार गरिएको छ । मंगलसेन नगरपालिकासँग सहकार्य गरेर अछाम बहुमुखी क्याम्पसमा गरिएको एक दिने शिविरमा २ हजार १ सय ३१ बिरामीले निःशुल्क उपचार सेवा पाएका छन् ।

पालिकासँग सहकार्य गरेर कमलवजार नगरपालिकामा गरिएको दुई दिने शिविरमा ३ हजार २ सय ८५ बिरामी लाभान्वित भएका छन् । तीन शिविरमा १ हजार ७ सय २ जनाको भिडियो एक्सरे, १ हजार ३ सय ६९ बिरामीको रक्त परीक्षण, ७ सय ६८ बिरामीको इसीजी र ५ सय ३७ बिरामीको इको गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

त्यहाँ उपचार सम्भव नभएका ४०६ जना बिरामीलाई थप उपचारका लागि केएमसी बोलाइएको छ । शिविरबाट रिफर भएका सबै बिरामीलाई केएमसीका सञ्चालक डा.सुनिल शर्माले अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाइदिएका छन् । उनीहरूलाई अस्पतालसम्म जान स्थानीय पालिकाले सहयोग गर्ने भएका छन् ।

शिविरमा केएमसीका १८ जना विशेषज्ञ डाक्टरहरूको टोली गएको थियो । काठमाडौंबाट विशेषज्ञ डाक्टर आएको थाहा पाएपछि शिविरमा बिरामीको भीड लागेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!