
विराटनगर । अंगीकृत नेपाली नागरिकता प्राप्त गर्न झुटो विवरणका आधारमा सिफारिस दिएको आरोपमा मोरङको रंगेली-५ का वडाध्यक्ष र वडा सदस्य पक्राउ परेका छन् ।
रंगेली नगरपालिका–५ का वडाध्यक्ष ५५ वर्षीय महानन्द मण्डल र वडा सदस्य ४६ वर्षीय गणेश ऋषिदेव पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार मनुवाकुमार महतो नामका व्यक्तिले अधनुनिया महतो आफ्नी आमा भएको भनी नागरिकताका लागि झुटो विवरण पेस गरेका थिए ।
उक्त विवरणका आधारमा वडाध्यक्ष मण्डल र वडा सदस्य ऋषिदेवले सर्जमिन मुचुल्का तथा आवश्यक सिफारिस उपलब्ध गराएको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।
नागरिकता प्राप्तिका लागि पेस गरिएका कागजात तथा विवरणमाथि छानबिनका क्रममा सिफारिसमा उल्लेख गरिएका तथ्यहरू वास्तविक नभएको देखिएपछि जिल्ला प्रशासन कार्यालय मोरङले पक्राउका लागि प्रहरीलाई पत्राचार गरेको थियो ।
प्रशासनको निर्देशनका आधारमा दुवै जनालाई आज पक्राउ गरिएकाे डीएसपी मिश्रले बताए । पक्राउ परेका दुवै जनामाथि नागरिकता किर्तेसम्बन्धी कसुरमा अनुसन्धान गरिने उनकाे भनाइ छ ।

संगालोखबर 



















