संगालोखबर


विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाको विशेष साधारणसभाले तीनवटा लघुवित्तबीचको मर्जर सम्बन्धी ऐतिहासिक प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

मोरङको कटहरीस्थित संस्थाको केन्द्रीय कार्यालयमा सम्पन्न साधारणसभाले अध्यक्ष विक्रमराज सुवेदीद्वारा प्रस्तुत मर्जर सम्बन्धी विशेष प्रस्तावलाई पारित गरेको हो ।

गत चैत २८ गते मोरङमा केन्द्रीय कार्यालय रहेको जीवन विकास लघुवित्त, बाँकेको कोहलपुरमा मुख्य कार्यालय रहेको युनिक नेपाल लघुवित्त र काभ्रेपलाञ्चोकको बनेपामा केन्द्रीय कार्यालय रहेको मानुषी लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्झौता भएको थियो ।

यो सम्झौता लघुवित्त क्षेत्रमा भएको हालसम्मकै ठूलो सम्झौता भएको जनाइएको छ । सोही सम्झौतालाई अनुमोदनका लागि जीवन विकासले विशेष साधारणसभा आह्वान गरेको हो ।

विशेष साधारणसभाले संस्थाको नाम ‘जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड’ र केन्द्रीय कार्यालय मोरङको कटहरी गाउँपालिका-२ मै रहने प्रस्ताव पनि पारित गरेको छ ।

मर्जरपछि युनिक नेपाल र मानुषी लघुवित्तको हालको केन्द्रीय कार्यालयलाई प्रादेशिक कार्यालयको रूपमा रूपान्तरण गरिनेछ । मर्जरपछि संस्थाको नेतृत्व जीवन विकास लघुवित्तका वर्तमान प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले गर्ने प्रस्ताव पनि साधारणसभाले पारित गरेको हो ।

साधारणसभाले मर्जरका लागि सञ्चालक समितिका अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदन र हालसम्मका सम्पूर्ण कामकारबाहीलाई अनुमोदन गरेको छ । साधारणसभाले भविष्यमा अन्य लघुवित्तहरूसँग पनि मर्जर वा प्राप्तिको प्रक्रिया अघि बढाउन सक्ने गरी समितिलाई विशेष अधिकार प्रदान गरेको हो ।

हाल जीवन विकासको चुक्ता पुँजी १ अर्ब ७५ करोड १२ लाख ३२ हजार, युनिक नेपालको १४ करोड ८५ लाख ७५ हजार र मानुषी लघुवित्तको १० करोड ९३ लाख ७५ हजार रुपैयाँ रहेको छ । मर्जर पश्चात संस्थाको कुल चुक्ता पुँजी १ अर्ब ९८ करोड ८४ लाख ४ हजार ३१२ रुपैयाँ पुग्नेछ ।

एकीकृत कारोबारपछि संस्थाको कार्यक्षेत्र कर्णाली प्रदेश बाहेक देशभर विस्तार हुनेछ । ६ वटा प्रदेशमा संस्थाको शाखा संख्या २३३ पुग्ने साधारणसभामा जानकारी दिइयो । जीवन विकासले हाल ३१ जिल्लामा लघुवित्त सेवा प्रवाह गरिरहेको छ ।

युनिक नेपालले १० जिल्ला र मानुषीले १४ जिल्लामा वित्तीय सेवा प्रवाह गर्दै आएको छ । मर्जरको सम्पूर्ण प्रक्रिया पूरा गरी २०८३ साल असार मसान्तभित्रै एकीकृत कारोबार सुरु गर्ने तयारी थालिएको छ ।

बुधबारको विशेष साधारणसभामा संस्थाका सञ्चालक श्यामचन्द्र खतिवडा, प्रकाश कुमार श्रेष्ठ, इन्द्र नारायण देव वैश्य, गोकर्ण खतिवडा, अशोक सिटौला, डाक्टर वन्दना कुमारी जैन, प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डललगायत संस्थाका सेयर सदस्यहरू उपस्थित थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!