धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपाल अहिले नगरक्षेत्रमा हुँने अधिकांस विवाहमा पुग्ने गर्छन् । उनले बिहे घरमा पुगेर बेहुला–बेहुलीलाई दाम्पत्य जीवनको शुभकामना दिने मात्र हैन एउटा कार्ड पनि थमाउँछन् । त्यो हो, नव विवाह दम्पती कार्ड ।
तीन पन्ने त्यो कार्डमा प्रजनन स्वास्थ्य र जन्मजात अपाङ्गता रोकथाम सम्बन्धि जानकारी उल्लेख छन् । स्वस्थ शिशु जन्माउँन, मातृशिशु मृत्युदर घटाउँन र जन्मजात अपाङ्गता रोकथामका लागि जानकारीमूलक सन्देश सहितको कार्ड थमाएर मेयर नेपालले सोही अनुसार गर्न दम्पतीलाई सुझाव दिने गरेका छन् । ‘हामी अहिले जन्मजात हुँने अपाङ्गता रोकथामको अभियानमा छौं । त्यसैले नव दम्पतीबाट स्वस्थ शिशु जन्मियोस्, मातृशिशु मृत्युदर घटोस् र जन्मजात अपाङ्गता न्यूनिकरण होस् भनेर बेहुला–बेहुलीलाई जानकारीमूलक नव विवाह दम्पती कार्ड दिन थालेका छौं,’ मेयर नेपालले भने, ‘विवाहको उत्सवमै यो कार्ड दिँदा प्रभावकारी होला भनेर अभियानमा खटिएका छौं ।’
कार्डमा विवाहपछि गर्नुपर्ने आवश्यक काम तथा तयारी, जन्मजात अपाङ्गता रोकथामका लागि गर्नुपर्ने तयारी र सन्तान जन्माउँनुअघि दम्पतीले सेवन गर्नुपर्ने फोलिक एसिडको बारेमा उल्लेख छ । विवाहको ३५ दिनभित्र विवाह दर्ता गर्न, गर्भधारण गर्नुभन्दा तीन महिना अघिदेखिनै श्रीमान–श्रीमती दुवैले फोलिक एसिड चक्की सेवन गर्न नव दम्पतीलाई कार्डमार्फत सुझाव दिइएको छ ।
नव विवाह दम्पती कार्ड दिन सकेसम्म मेयर आफै पुग्ने गरेका छन् । टाढा र कार्यव्यस्तताले आफु पुग्न नसकेमा उप–मेयर मञ्जु अधिकारीसहित अन्य जनप्रतिनिधिलाई पठाउँने गरिएको छ । आवश्यकता अनुसार स्वास्थ्यकर्मीहरुलाई नै परिचालन गरेर पनि सबै नव दम्पतीहरुलाई कार्ड प्रदान गर्ने गरिएको मेयर नेपालले जानकारी दिए । महालक्ष्मी नगरपालिकाले अपाङ्गता रोकथामका लागि बिभिन्न संघ–सस्थासँग सहकार्य गरेर काम गर्दै आएको छ ।