
विराटनगर । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले विराटनगरको रानी–जोगवनी सीमा नाका व्यवस्थित गर्न निर्देशन दिएकी छन् । भारतमा कोरोना संक्रमण तीब्र बनेपछि सीमावर्ती विराटनगर रानी र आसपासको क्षेत्रबाट आवत–जावत बढेकाले मन्त्री राईले आज स्थलगत अनुगमन गर्दै सीमामा खटिएका सुरक्षाकर्मीलाई यस्तो निर्देशन दिएकी हुन् ।
भारतमा कोरोना संक्रमण तीव्र रुपमा बढिरहेको अवस्थामा सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्नेको लर्के लाग्ने गरेको पाईएको भन्दै मन्त्री राईले नाकाबाट नेपाल प्रवेश गर्नेको रेकर्ड राख्ने, स्वास्थ्य परीक्षण गर्ने काम गर्न निर्देशन दिइन् । ‘दैनिक हजारौंको संख्यामा प्रवेश गरेको पाइएको छ, यसको तुरुन्त नियन्त्रण होस्,’ मन्त्री राईले भनिन् । चोर वाटो प्रयोग गर्नेहरुलाई नियन्त्रण गरी मुख्य नाकाबाट मात्र आवतजावत गराउँन उनले निर्देशन दिइन् ।
सो अवसरमा सशस्त्र प्रहरी वलका एसपी तिर्थ पौडेलले सीमा नाकामा सुरक्षा जाँच कडा गरिएको बताए । उनले शंकास्पदहरुको चेकजाँच गरि सम्बन्धित निकायमा जानकारी गराउने गरेको मन्त्री राईलाई जानकारी गराए । खुल्ला सीमाका कारण आवत–जावतमा कडाई गर्न समस्या भएको भन्दै उनले पहिलेको तुलनामा नियन्त्रण हुँदै गएको बताए ।















