बिराटनगर । इलाम र झापाका दुई छुट्टाछुट्टै स्थानमा बिहिवार सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । इलामको माङसेबुङ गाउँपालिकामा ट्रक दुर्घटना हुँनुका साथै झापामा ट्रकले साइकललाई ठक्कर दिएको हो । इलामको माङसेबुङ–२ भोटेडाँडामा गोलिया बोकेको ना ३ ख २०५ नम्बरको ट्रक दुर्घटना हुँदा ट्रकका सह–चालक पाँचथरको मिक्लाजुङ गाँउपालिका–४ का ३५ बर्षीय किरण राईको मृत्यु भएको हो ।
बिहान पाँचथरको रविबाट दमकतर्फ गोलिया लिएर जाँदै गरेको ट्रक अनियन्त्रीत भई सडकबाट करिब २ सय मिटर तल खस्दा सह–चालक राई घाइते भएका थिए । उपचारका लागि दमक लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी झापाको शिवसताक्षी नगरपालिका–११ दुधेस्थित भित्र सडकमा मे १ ख ३३९२ नम्बरको ट्रकले साइकललाई ठक्कर दिँदा स्थानीय १३ बर्षीय बालक भीमबहादुर राईको मृत्यु भएको हो । ठक्करबाट घाइते भएका बालकलाई उपचारका लागि भद्रपुरस्थित मेची अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय झिलझीलेले जनाएको छ ।