बेलबारी । प्रदेश १ का चार जनाले मेची–महाकाली पद यात्रा सुरु गरेका छन् । धरानका उद्श तामाङ र ईन्द्र कुमार लिम्बु, विराटनगरका निरज बस्नेत र संखुवासभाका नाम्जा भोटेले पदयात्रा सुरु गरेका हुन् । उनीहरुले पदयात्रालाई ‘ह्वाईट क्यान मेची–महाकाली पद शान्ति यात्रा’ नाम दिएका छन् ।
उद्श दृष्टीबिहिन हुन् भने ईन्द्रले एउटा मात्र आँखाले देख्छन् । सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नक्सा जारी गरे पनि कार्यान्वयनमा नल्याएकाले दवाव दिन पदयात्रा थालिएको बस्नेतले बताए । ७ सय ३० दिनमा ७ सय ५३ वटै स्थानीय तह तथा कालापानी, लिपुलेक र लिम्पियाधुरा घुम्ने उनीहरुको योजना छ ।
आफुहरु पुगेको ठाउँबाट आएका सुझाव प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर जानकारी गराउँने उनीहरु बताउँछन् । गौतमबुद्ध नेपालमा जन्मिएको प्रमाण हुँदाहुदै पनि भारतले पटक–पटक दावी गरेकाले पदयात्रामार्फत बुद्ध नेपालमै जन्मिएको प्रचार पनि गरिने उनीहरुको भनाई छ ।
ढाका टोपी लगाएर नेपालको झन्डा बोकी पद यात्रामा निस्किएका उनीहरु वुधवार मोरङको बेलवारी नगरपालिकामा आइपुगेका थिए । बेलावारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप शाहले स्वागत गर्दै यात्रा सफलताको शुभकामना दिएका छन् ।