गोमा ढुंगाना/संगालोखबर

धनकुटा । धनकुटाकी कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएकी धनकुटा नगरपालिका–५ की ४३ बर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

Advertisement

एक साता अघिदेखि ज्वरो आएकी उनलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि बिराटनगरस्थित नोबेल शिक्षण अस्पताल पुर्याइयो । पीसीआर परीक्षण गर्दा गत मंगलबार उनमा कोरोना संक्रमण पुष्टि भएको नोबेल अस्पतालले जनाएको छ ।

संक्रमण पुष्टि भएको एक दिनपछि बुधबार उनको मृत्यु भएको परिवार स्रोतले संगालोखबरलाई बताएको छ । जिल्ला अस्पतालले समयमै रोग पहिचान गर्न नसक्दा उपचारमा ढिलाई भई मृत्यु भएको उनको परिवारको आरोप छ । मृतक महिलामा केही बर्षयता सुगरको समस्यासमेत थियो । मृतकको शवलाई नेपाली सेनाले बिराटनगरको सिंघिया खोलामा अन्त्येष्टि गरेको छ ।

नोबेलमा परीक्षण गर्दा पीसीआर पोजिटिभ आएको रिपोर्ट ।

मृतक महिलाका श्रीमान धनकुटा बजारको एक शैलुनका सञ्चालक हुन् । ती महिलामा ज्वरोसहितका लक्षण देखिएर उपचार गराईरहदा उनका श्रीमान, छोरासहित आफन्त पनि सैलुनमै काम गर्दै आएका थिए । कोरोना संक्रमण पुष्टि भएर महिलाको मृत्यु भएपछि अहिले शैलुन बन्द गरिएको छ ।

मृतकको परिवारका सदस्य अहिले धनकुटास्थित कोठामै छन् । उनीहरुको पीसीआर परीक्षण गरिएको छैन । अहिले परिवारका कसैमा पनि लक्षण नदेखिएकाले १४ दिन घरमै बस्ने र केही लक्षण देखिएमा पीसीआर परीक्षण गर्ने मृतकका श्रीमान बताउँछन् ।

योसँगै धनकुटामा कोरोना संक्रमित मृतकको संख्या तीन पुगेको छ । मृतक सबै धनकुटा नगरपालिका क्षेत्रकै हुन् । यसअघि कात्तिक १० गते धनकुटा नगरपालिका–५ कै ६३ बर्षीय कोरोना संक्रमित पुरुष र असोज २५ गते धनकुटा नगरपालिका–३ की ६५ बर्षीया महिलाको मृत्यु भएको थियो । उनीहरु पनि कोरोना संक्रमित थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!