टोकियो । चोरले केही पनि बाँकी राख्दो रहनेछ। जापानको राजधानी टोकियो नजिकै साइतामास्थित एक बगैँचाबाट ४ सय वर्ष पुरानो बोन्साई (आकारमा ल्याइएको वृक्ष) चोरिएको छ। अरू ६ वटा रूखसमेत चोरिएका छन् ।

ती रूखको मूल्य १ लाख १८ हजार अमेरिकी डलर (१ करोड ३५ लाख रुपैयाँ) भन्दा बढी छ। सबैभन्दा बहुमूल्य बोट शिम्पाकु जातको वनस्पतिको थियो। ४ सय वर्ष पुरानो उक्त बोन्साइको मात्र मूल्य ९० हजार डलर (एक करोड रुपैयाँभन्दा बढी) थियो।

चोरिएका बाँकीमध्ये तीनवटा देवदारका र तीनवटा अलि कम उमेरका शिम्पाकुका बोट थिए। सबैभन्दा जेठो शिम्पाकुको बोनसाई यसै महिना आयोजना गरिने प्रतियोगितामा राखिने कार्यक्रम थियो। जापानमा विशेष प्रविधि प्रयोग गरी बोनसाई बनाइन्छ। बोनसाई असली रूपमा रूख जस्तो देखिए पनि आकारमा कैयौं सानो हुने गर्छ। घरमा भाँडोमै बोनसाई हुर्काइन्छ।

उक्त बोनसाईको रेखदेख गर्दै आएका सिजी इमुराकी पत्नी फुयुमीले त्यसलाई नियमित रूपमा सिँचाइ गर्न चोरसँग आग्रह गरेकी छन्। उनले चोरलाई सम्बोधन गर्दै भनेकी छन्, ‘पानी नदिने हो भने बोनसाई एक साता पनि बाँच्ने छैन। हामीले यसलाई आफ्नै सन्तान जसरी रेखदेख गर्दै आएका थियौं। तिमीले पनि त्यस्तै माया गर्नू।’

बोनसाई चोरी भएपछि आफ्नो शरीरको भाग काटेको जस्तै पीडा र छटपटी भएको उनले बताइन्। उनको ठम्याइमा चोर निकै सिपालु हुनुपर्छ। ‘३ हजार विरुवामध्ये सबैभन्दा महँगो बोनसाई छानेर लैजान चानचुने चोरले पक्कै सक्दैन’, उनले भनेकी छन्।

जापानमा बोनसाई निकै लोकप्रिय मानिन्छ। बोनसाई राख्ने स्थानीय अन्य व्यक्ति, आफन्त, साथीसँगी र शुभेच्छुकले उनका घरमै पुगेर सान्त्वना दिन थालेका छन्।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!