काठमाडौं, १४ मंसिर । प्याजको मूल्य अत्याधिक बढेपछि आपूर्ति विभागले २४ घण्टाभित्र कागजातसहित उपस्थित हुन व्यापारीहरुलाई निर्देशन दिएको छ।

Advertisement

अस्वाभाविक रुपमा प्याजको मूल्य बढेपछि आपूर्ति विभाग अन्तर्गतको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता संरक्षण विभागले बिहीबार काठमाडौंका मुख्य तरकारी बजार कालिमाटी र बल्खु क्षेत्रका खुद्रा र थोक पसलमा अनुगमन गरेको थियो।

अनुगमनका क्रममा प्याज खरिद गर्दै आएका व्यापारीहरुले विलबिजक नदेखाएपछि विभागले २४ घण्टाभित्र कागजातसहित कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ।

‘कालिमाटी र बल्खुका खुद्रा र थोक पसलमै पुगेर बुझ्यौं’, अनुगमन खटिएका शाखा अधिकृत निरज घिमिरेले भने, ‘थोक विक्रेताले प्रतिकिलो ११० देखि ११५ सम्म लिएको पाइयो, खुद्रामा पनि प्याज प्रति किलो १३० भन्दामाथिसम्म बिक्री भइरहेको पायौं।’

ब्यापारीहरुले खरिद गरेको बिल हेरेपछि मूल्यमा चलखेल भएको वा नभएको थाहा हुने घिमिरेले बताए। नेपाली बजारमा ९० प्रतिशतभन्दा बढी प्याज भारतबाटै आयात हुने गरेको छ।

नाकामा भारतले कडाई गर्दा आवश्यक परिमाणमा प्याजको आयात गर्न नसकिएको व्यापारीहरुको भनाइ छ। व्यापारीहरुले चुनावका कारण भारतले नाकामा कडाई गरेकोले माग अनुसार प्याज आयात गर्न नसक्दा मूल्यवृद्धि भएको बताएका छन्।

प्याजको मुल्य अत्यधिक बढ्दा उपभोक्ता चर्को मारमा परेका छन्। कालिमाटी र बल्खु तरकारी बजारबाहेक राजधानीकै बिभिन्न क्षेत्रमा प्याज प्रतिकिलो १५० भन्दा बढी तिरेर खरिद गर्न उपभोक्ता बाध्य छन्। कृत्रिम अभाव सिर्जना गरेर व्यापारीले मनपरी प्याजको मूल्यमा निर्धारण गरेको आवाज उठेपछि अनुगमन गरिएको शाखा अधिकृत घिमिरेले बताए।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!