एजेन्सी, ५ मंसिर । खगोलविद्हरुले पहिलो पल्ट हाम्रो सौर्य परिवारभन्दा बाहिरबाट आएको एक पिण्डको अवलोकन गरेका छन्। अक्टोबर १९ का दिन पहिलो पल्ट देखिएको सो पिण्ड ताराहरुबीचको स्थान (इन्टरस्टेलर स्पेस) बाट सौर्य परिवार भित्रिएको निष्कर्षमा वैज्ञानिकहरु पुगेका छन्।

Advertisement

अक्टोबर १९ मा हवाइस्थित पान स्टार्स १ टेलिस्कोपले यो पिण्डलाई देखेको थियो। तीव्र गतिमा दौडिरहेको यो पिण्डलाई पहिले वैज्ञानिकहरुले धुमकेतु वा क्षुद्रग्रह ठानेका थिए। तर यसको आकृतिका कारण उनीहरु यो धुमकेतु वा क्षुद्रग्रह नभएको निष्कर्षमा उनीहरु पुगेका हुन्।

सिगार आकारको देखिने यो पिण्डको चौडाइभन्दा लम्बाइ १० गुणा बढी छ। यस्तो किसिमको पिण्ड पहिलो पटक देखिएको वैज्ञानिकहरुले बताएका छन्। वैज्ञानिकहरुले यसअघिसम्म चौडाइभन्दा तीन गुणा बढी लम्बाइ भएको खगोलीय पिण्ड मात्रै देखेका थिए।

अनौठो आकृति भएको यसलाई चिली र हवाइका ठूल्ठूला टेलिस्कोपहरुको सहारामा अध्ययन गरियो। यसको लम्बाइ कम्तीमा ४०० मिटर रहेको बताइएको छ।

लाखौँ वर्षमा विभिन्न किरणहरुका कारण यो पिण्डको रङ रातो–कालो बनेको बताइएको छ। यो प्रत्येक ७.३ घण्टामा आफ्नै अक्षमा एक फन्को घुम्छ र यसमा धातु रहेको अनुमान गरिएको छ।

वैज्ञानिकहरुले यसलाई पहिलो पटक ‘इन्टरस्टेलर एस्टेरोइड’ भनी वर्गीकृत गरेका छन् र यसको १आइ/२०१७ यु१ नाम दिएका छन्। तर यसलाई अर्को आधिकारिक नाम पनि दिइएको छः ‘ओमुअमुअ।’ हवाइ भाषामा यसको अर्थ ‘सन्देशवाहक’ हुने बताइएको छ।

‘दशकौँसम्म यस्ता इन्टरस्टेलर पिण्डको अस्तित्व छ भनेर हामीले सिद्दान्त तयार गरेका थियौँ। अहिले पहिलो पल्ट यसलाई हामीले देखेका छौँ र यस्ता वस्तु छन् भन्ने कुराको यो प्रत्यक्ष प्रमाण हो,’ नासाका थोमस जुर्बचेन भन्छन्, ‘यो ऐतिहासिक खोजले हाम्रो सौर्य परिवारभन्दा बाहिरका सौर्य प्रणालीहरुको बनोटबारे अध्ययनको नयाँ आँखिझ्याल खोलिरहेको छ।’

कहाँबाट आयो ओमुअमुअ?
ओमुअमुअ लाइरा नक्षत्रको चम्किलो तारा भेगाको दिशाबाट हाम्रो सौर्य प्रणालीमा प्रवेश गरेको थियो। तर प्रतिघण्टा एक लाख ३८ हजार किलोमिटरको गतिमा पनि ओमुअमुअ यहाँ आइपुग्न लाखौँलाख वर्ष लाग्यो। तर ३ लाख वर्षअघि मात्र पनि भेगा अहिलेको स्थानमा थिएन। त्यसैले वैज्ञानिकहरुले करौडौँ वर्षअघिदेखि यो पिण्ड हाम्रो आकाशगंगामा कुनै तारासँग नजोडिइ घुमिरहेको अनुमान गरेका छन्।

हाम्रो सौर्य प्रणाली बन्दै गर्दा ठूला ग्रहहरुको विशाल कक्षका कारण ठूलो संख्यामा साना क्षुद्रग्रह र धुमकेतुहरु सौर्यपरिवारबाहिर धकेलिएका थिए।

https://youtu.be/Yzha7ji3lsM

त्यसैगरी अन्य प्रणालीले पनि त्यस्ता क्षुद्रग्रहहरुलाई बाहिर धकेलेको हुनसक्ने वैज्ञानिकहरुले बताएका छन्।

पृथ्वी र अन्तरीक्षमा रहेका टेलिस्कोपहरुले अहिले ओमुअमुअलाई निरन्तर पच्छ्याइरहेका छन्। यो अहिले पृथ्वीबाट झण्डै २० करोड किलोमिटर टाढा छ। यो अहिले मंगल ग्रह नजिक पुगेको छ भने आउँदो मे महिनामा यसले वृहस्पति ग्रह पार गर्नेछ। जनवरी २०१९ मा यो शनिको कक्षबाट बाहिरिने छ भने त्यसपछि हाम्रो सौर्य परिवार छोडेर यो पिगासस नक्षत्रतिर लाग्नेछ।

यसबारे खगोलविद्हरुको दुई समूहले अलगअलग अध्ययन गरेका छन्। यसबारे एक अध्ययन नेचर जर्नलमा प्रकाशित छ।

अध्ययनपछि खगोलविद्हरुले वर्षेनी करिब एक हजार यस्ता पिण्डहरु हाम्रो सौर्य परिवारमा प्रवेश गर्ने र अर्को एक हजारले सौर्य परिवार छोडेर अन्यत्र जाने गरेको अनुमान गरेका छन्। तिनीहरुको तीव्र गतिका कारण सूर्यको गुरुत्वाकर्षण बलले तिनीहरुलाई प्रभाव नपार्ने बताइन्छ। तै पनि यस्ता पिण्डलाई हाम्रो सौर्य प्रणाली पार गर्न करिब १० वर्ष लाग्ने गर्छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!