काठमाडौं, २७ कात्तिक । नेपालकी एक वयोवृद्ध महिला अहिले संसारभरका थुप्रै सञ्चारमाध्यममा ‘भाइरल’ बनिरहेकी छन् । उनी अस्वभाविक रूपमा ठूला–ठूला मिडियाका लागि समाचारको हेडलाइन बनिरहेकी हुन् ।

Advertisement

अहिले लगातार संसारभर नाम कहलिएका सञ्चारमाध्यमहरूले ती वृद्धबारे समाचार संप्रेषण गरिरहेका छन् । ती वृद्ध हुन्, धादिङमा जन्म भई हाल सिन्धुपाल्चोक गिरानचौर–१ मा बसोबास गर्ने ११५ वर्षीया बाटुली लामिछाने । उनी सुर्ति/चुरोट तानेरै विश्वभरका सञ्चारमाध्यमका लागि समाचारको विषय बनिरहेकी छन् । पत्याउनुभएन ? यो कथा पनि पढिहाल्नुहोस् ।

हामी सबैलाई थाहा छ– धूम्रपान हाम्रो स्वास्थ्यका लागि ज्यादै हानिकारक वस्तु हो । तर, यी ११५ वर्षीया वृद्धा भने ९५ वर्षदेखि लगातार धूम्रपान गरेर पनि ठीकठाक बाँचिरहेकी छन् ।

गजबको कुरा त यो छ कि– ११५ वर्षीया बाटुली अहिले पनि दैनिक औसतमा ३० वटा सुर्ति÷बिँडी तान्छिन् । उनको यही दैनिकी अहिले विश्वका लागि चासोको विषय बनिरहेको छ ।

विभिन्न शोध तथा अनुसन्धानबाट यो पत्ता लागेको छ कि– हरेक चुरोटले जो कोही मानिसको जीवनको १० मिनेट बराबरको आयुु घटाइरहेको हुन्छ ।

त्यसो भए यी बाटुली कसरी आजसम्म बाँचिरहेकी छन् त ? हेरौं न, उनी दैनिक ३० वटासम्म चुरोट तानेर पनि उनी ११२ वर्षको आयु बाँचिरहेकी छन् । बाटुलीको अधिक धूम्रपान र जीवनको यो तदारुकता अहिले संसारमा चिकित्सा विज्ञानका लागि चुनौती र चासोको विषय बन्दै गइरहेको छ । न होस् पनि कसरी !

‘न्युयोर्क टाइम्स’ले पनि यो समाचार छापेको । उसले भनेको छ कि– बाटुलीका श्रीमान् करिब ८० वर्षपहिले कामको खोजीमा घर छाडेर हिँडेका थिए । तर, हालसम्म उनी मरे–बाँचेको अत्तोपत्तो छैन । पाँच छोराकी आमा बटुलीका जेठा छोराबाहेक अन्य चार भाइ छोरा बितिसकेका छन् । जब कि– उनका अहिले बाँचेका छोरा नै ८५ वर्षका भइसकेका छन् ।

उक्त समाचारमा बताइएअनुसार गतवर्ष भूकम्पमा घर भत्किएपछि बाटुली अहिले मन्दिरमा शरण लिएर बसिरहेकी छन् । चुरोट पिएको यति लामो समय बितिसक्दा आजसम्म बाटुलीलाई चुरोट पिउँदाको फाइदा–बेफाइदाबारे कसैले केही सुनाएको छैन । वा, सुनाए पनि उनलाई समझना छैन । वा भनौं, उनी ठीकठाक तरिकाले चुरोट तानिरहेकी छन् । र, जीवन धानिरहेकी छन् ।

एउटा कुरा के चाहिँ हो भने, सामान्यतः मानिस चोर र माझी औंलाले च्यापेर चुरोट तान्छन् । तर, बाटुली भने बूढी औंला र चोर औंलाले च्यापेर चुरोट तान्छिन् ।बताइएअनुसार बाटुली संसारकै सबैभन्दा जेठी महिलाभन्दा मात्रै १ वर्षले कान्छी महिला हुन् । अर्थात्, उनी संसारभरमा जीवित सबैभन्दा बढी उमेरकी दोस्री महिला हुन् ।

नेपाल सरकारले जारी गरेको बाटुलीको नागरिकताको प्रमाणपत्रमा उनको जन्ममिति वि.सं. १९५९ साल चैत १० गत लेखिएको छ । उनको पतिको नाम छविलाल लामिछाने उल्लेख छ ।

उनको नागरिकता नम्बर ३०३१/४१५ हो । उनको नागरिकता नुवाकोट जिल्लाबाट जारी भएको छ । र, कतिपय विदेशी सञ्चारमाध्यमले भने बाटुली ११२ वर्षकी भनेर समाचार बनाएका छन् । तर, उनको नागरिकताअनुसार उनी अहिले ११५ वर्ष भइन् । उनी आगामी माघपछि ११६ वर्ष लाग्छिन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!