मोरङ, २० कात्तिक । प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि सुनसरीमा मनोनयन दर्ता गराएका ८ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन क्षेत्र नम्बर १ (क) बाट कांग्रेसका किशोर राईविरुद्ध स्वतन्त्र उम्मेदवारी दिए मदन ढकालले उम्म्दवारी फिर्ता लिएका हुन् ।

Advertisement

त्यसैगरी, क्षेत्र नम्बर १ कै प्रदेशसभा (ख) तर्फ नेकपा एमालेका केन्द्रीय पार्टी सचिव भीम आचार्य्विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका बरुण राईले समेत दर्ता गराएको मनोनयन फिर्ता लिएका छन् ।

क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यतर्फ उम्मेदवारी दिएका नेपाली जनता दलका विनोदकुमार साह र प्रदेशसभा (ख) तर्फ स्वतन्त्र उम्मेदवार देवनारायण सुतिहारले समेत उम्मेदवारी फिर्ता लिएका छन् ।

त्यस्तै, क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्यतर्फ मनोनयन दर्ता गराएका स्वतन्त्र उम्मेदवार सज्जन ऋषिदेवले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

त्यसैगरी, क्षेत्र नम्बर ३ प्रदेशसभा (क) तर्फ नेपाली कांग्रेसका बागी महेशप्रसाद बास्तोला, क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्यतर्फ संघीय समाजवादी फोरमबाट उम्मेदवारी दिएका मनोज यादव र सोही निर्वाचन क्षेत्रको प्रदेशसभा (ख) तर्फ नेपाली जनता दलबाट उम्मेदवारी दिएकी ममताकुमारी मेहताले समेत मनोनयन फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय इनरुवाले जनाएको छ ।

सुनसरीको ४ प्रतिनिधिसभा र ८ प्रदेशसभा सदस्यतर्फ गरी १ सय ५३ जनाको उम्मेदवारी परेको थियो । यस्तै मोरङ क्षेत्र नम्बर ३ मा वाम गठबन्धनविरुद्ध उम्मेदवारी दिएका एमाले मोरङका पूर्वउपाध्यक्ष दिलप्रसाद (डिपी) राई र जिल्ला सचिवालय सदस्य भेषनाथ रिजालले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

गठबन्धनको उम्मेदवारी वितरणमा अन्याय भएको भन्दै प्रदेशसभातर्फ क्षेत्र नम्बर ३ (क) मा एमाले मोरङका पूर्वउपाध्यक्ष राईले एमालेकै उम्मेदवार राजकुमार ओझाविरुद्ध उम्मेदवारी दिएका थिए ।

मोरङ क्षेत्र नम्बर ३ मै प्रतिनिधिसभाका लागि एमालेका पूर्वप्रमुख सचेतक तथा पोलिटब्युरो सदस्य भानुभक्त ढकालविरुद्ध रिजालले उम्मेदवारी दिएका थिए ।

पार्टी्भित्रको गलत अभ्यासको अन्त्य गर्न खबरदारी गर्न आफूहरूले बागी उम्मेदवारी दिएको र नेताहरूलाई सचेत गराएको उनीहरूको भनाइ छ ।

पार्टीका नेताहरू सचेत बनेपछि आफूहरूले उम्मेदवारी फिर्ता लिएको उनीहरूले बताएका छन् । क्षेत्र नम्बर ३ को प्रतिनिधिसभातर्फ मित्रसेन योन्जनले समेत आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

त्यस्तै, प्रदेशसभातर्फको १ नम्बरतर्फ भरतप्रसाद पोखरेल र २ तर्फका राजेन्द्रप्रसाद ढकालले समेत उम्मदवारी फिर्ता लिएका छन् । उनीहरू दुवैजना राप्रपाका आधिकारिक उम्मेदवार थिए ।

यसैबिच झापामा उम्मेदवारी दर्ता गराएका पाँच जनाले आइतबार उम्मेदवारी फिर्ता लिएका छन् ।दुई जनाले प्रतिनिधिसभा सदस्य र तीन जनाले प्रदेशसभा सदस्यको उम्मेदवारी फिर्ता लिएका मुख्य निर्वाचन अधिकृत खिलानाथ रेग्मीले जानकारी दिए ।

उम्मेदवारी फिर्ता लिनेमा प्रतिनिधिसभा सदस्य तर्फ झापा क्षेत्र नम्बर २ बाट नेकपा मालेका खगेन्द्रप्रसाद प्रसाई र झापा क्षेत्र नम्बर ४ बाट स्वतन्त्रका रमेश श्रेष्ठले फिर्ता लिएका छन्।

त्यस्तै प्रदेशसभा सदस्यतर्फ झापा क्षेत्र १ (क) बाट स्वतन्त्र उम्मेदवार रोसन अग्रवाल, (ख) बाट स्वतन्त्र उम्मेदवार नरेन्द्र मेचे र झापा क्षेत्र ४ (ख) बाट विवेकशील पार्टीका घनेन्द्रराज खनालले फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत रेग्मीले जानकारी दिए। उनका अनुसार उम्मेदवार दर्ता भएका अन्य राजनीतिक दल र स्वतन्त्रतर्फका उम्मेदवारलाई निर्वाचन चिन्ह समेत प्रदान गरिसकेको बताए।

झापाका पाँच वटा निर्वाचन क्षेत्रबाट पाँच जना प्रतिनिधिसभा सदस्य र १० जना प्रदेशसभा सदस्य गरी १५ जना निर्वा्चित हुनेछन्। प्रतिनिधिसभाका लागि ५७ जना र प्रदेशसभामा ८४ जना उम्मेदवार रहेका छन्।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!