तेह्रथुम, १५ कात्तिक । तेह्रथुमबाट प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि नेकपा माओवादी केन्द्रबाट प्रत्यक्षतर्फ सिफारिस हुनुभएका प्याब्सनका केन्द्रीय अध्यक्ष विजय सम्बाहाम्फेलाई नेपाली कांग्रेसले टिकट दिएको छ ।

Advertisement

पाँच वर्षअघि कांग्रेस छाडेर माओवादी प्रवेश गरी माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार समेत भइसक्नुभएका सम्बाहाम्फे मंगलबार साँझ पुनः कांग्रेसमै फर्किनुभएको थियो ।

सम्बाहाम्फेलाई नेपाली कांग्रेसले तेह्रथुमबाट प्रदेश सभा सदस्य निर्वाचनमा ‘ख’ निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ उम्मेद्वार बनाएको छ । उहाँलाई कांग्रेसले प्रदेश सभा ‘ख’ निर्वाचन क्षेत्रमा सर्वसम्मत उम्मेदवार बनाइएको जिल्ला सभापति गोविन्द ढुंगानाले बताउनुभयो ।

बाम–गठबन्धनबाट असन्तुष्ट भएर कांग्रेसमा ‘कम–ब्याक’ भएका सम्बाहाम्फेलाई मंगलबार बालुवाटारमा एक कार्यक्रमका बीच कांग्रेस सभापति शेरबहादुर देउवाले स्वागत गर्नुभएको थियो ।

सम्बाहाम्फे हाल निजी तथा व्यावसायिक विद्यालय अर्गनाइजेसन (प्याब्सन)को केन्द्रीय अध्यक्ष समेत हुनुहुन्छ । उहाँ प्रदेश सभा सदस्यको टिकट लिएर बुधबारै तेह्रथुम आउँदै हुनुहुन्छ ।

तेह्रथुमको फेदाप गाउँपालिका–३, जलजले स्थायी घर भएका सम्बाहाम्फे गृहजिल्लामा माओवादी केन्द्रका प्रभावशाली नेता मानिन्छन् । कांग्रेसमा रहँदा संविधानसभा–१ निर्वाचनमा पार्टीलाई जिताउन महत्वपुर्ण भूमिका खेल्नुभएका सम्बाहाम्फे पार्टी जिल्ला कार्यसमितिको तत्कालिन कोषाध्यक्ष हुनुहुन्थ्यो । उहाँ ०६४ मा भएको संविधान सभा–२ को निर्वाचनको मुखैमा नेकपा माओवादीमा प्रवेश गर्नुभएको थियो ।

परिवर्तनको वाहकको रुपमा आफुले लिएको माओवादी पार्टी वाम–गठबन्धन भन्दै नेकपा एमालेसँग घोडा टेक्न गएर धोका दिएको सम्बाहाम्फेले बताउनुभयो ।

कांग्रेस कम–ब्याकपछि सम्बाहाम्फेले अब यो देशको विकास र समृद्धि लोकतान्त्रिक शक्तिहरुबाट मात्रै सम्भव रहेको प्रतिक्रिया दिनुभयो । सम्बाहाम्फे पुनः कांग्रेसमै फर्किएपछि कांग्रेस कायकर्ता उत्साहित बनेका छन् ।
बाम–गठबन्धनमा समेत प्रभावशाली मानिएका नेता सम्बाहाम्फे कांग्रेस प्रवेशले चर्चा पाएको छ ।

तेह्रथुममा प्रतिनिधि सभामा एक निर्वाचन क्षेत्र र प्रदेश सभामा दुई वटा निर्वाचन क्षेत्र रहेका छन् । जिल्लाबाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ नेपाली काँग्रेसले केन्द्रीय सदस्य सीता गुरुङ र बाम–गठबन्धनको तर्फबाट निवर्तमान सांसद भवानीप्रसाद खापुङको उम्मेद्वार बन्ने भएका छन् । जिल्लाकै लोकप्रिय महिला नेतृ गुरुङ हाल नेपाल सरकारको भौतिक पुर्वाधार तथा यातायात राज्यमन्त्री समेत हुनुहुन्छ । उहाँ यसअघिका दुई वटै संविधान सभामा तेह्रथुमबाट समानुपातिक सांसद हुनुहुन्थ्यो ।

एमालेबाट तेस्रो पटक उम्मेदवार बन्नुभएका खापुङ अघिल्लो संविधान सभा निर्वाचनमा प्रत्यक्षतर्फ विजयी हुनुभएको थियो । नेता खापुङ त्यसअघि ०६४ मा कांग्रेस नेता तुलसी सुब्बासँग पराजित हुनुभएको थियो ।

यसपटकको निर्वाचनमा भने राज्यमन्त्री गुरुङ र नेता खापुङ प्रतिष्पर्धा रोचक हुने देखिएको छ । यस्तै प्रदेश सभा तर्फ ‘क’ निर्वाचन क्षेत्रमा कांग्रेसले जिल्ला सभापति गोविन्द ढुंगाना र बाम–गठबन्धनले जिल्ला अध्यक्ष लक्ष्मण तिवारीलाई उम्मेद्वार बनाउने भएका छन् ।

‘ख’ निर्वाचन क्षेत्रमा बाम गठबन्धनका तर्फबाट पुर्व जिल्ला अध्यक्ष तेजमान कन्दङवा उम्मेद्वार बन्ने हुनुभएको छ । बाम–गठबन्धनबाट तेह्रथुममा माओवादी केन्द्रले एउटा पनि उम्मेद्वार पाएको छैन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!