न्युयोर्क, १५ कात्तिक । अमेरिकाको न्युयोर्कको तल्लो म्यानह्याटनमा एक चरमपन्थीले आफ्नो ट्रक फुटपाथ र साइकल लेनमा चढाउँदा आठ जनाको मृत्यु भएको छ भने ११ जना गम्भिर घाइते भएका छन् ।
प्रहरीका अनुसार उनीहरुले यो घटना चरमपन्थी हमलाको रुपमा लिएका छन् । संदिग्धलाई प्रहरी हिरासतमा लिएको छ ।
ट्रक ड्राइभरले नियोजितरुपमा साइकलमा सवार सर्वसाधारणमाथि गाडी चढाएका थिए । प्रहरीले उनलाई तरुन्त नियन्त्रणमा लिएको थियो ।
अमेरिकी मिडियाका अनुसार २९ वर्षीय ड्राइभरको नाम सेफुलो साइपोव हो । उनी सन् २०१० मा अमेरिका आएको बताइएको छ ।
न्युयोर्कका मेयर बिल दे ब्लाजियोले घटनामा आठको मृत्यु भएको र दर्जन बढी घाइते रहेको बताए । उनले यस हमलालाई कायरतापूर्ण आतंकी कारवाहीको संज्ञा दिए ।
उनले भने, ‘यो एक कायरतापूर्ण आतंकी कारवाही हो । जसमा निर्दोष व्यक्तिहरुलाई निशाना बनाइएको छ । यस्तो हमलाको उद्देश्य भनेको हाम्रो धर्य तोड्नु हो । तर, हामीलाई थाहा छ न्युयार्कका जनता धर्यवान छन्, र आफ्नो धर्य कायम राख्ने छन् ।’-एजेन्सी