
धनकुटा । तिहारमा भाइटीका लगाएर घर फर्किने क्रममा मोटरसाइकल दुर्घटना हुँदा धनकुटाका एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटा नगरपालिका-५ का २२ वर्षीय रोजन परियार छन् । मृतक परियार धनकुटा-५ की वडा सदस्य दुर्गा शिवाका कान्छा छोरा हुन् ।
परियार काठमाडौंबाट धनकुटा आउदै गर्दा उनी सवार प्रदेश १-०२-०६० प ८७११ नम्बरको मोटरसाइकल शनिबार दिउँसो करिब १२ः४० बजे उदयपुरको चौदण्डीगढी-१० खैराझोरास्थित मदन भण्डारी लोकमार्गमा ना.७ त ५३२५ नम्बरको ट्याक्टरसँग ठोक्किएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका परियारलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिएको भएपनि उपचारकै क्रममा दिउँसो १ः३० बजे चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।
उनी सानिमाकी छोरीसँग तिहारको टिका लगाउन काठमाडौँ गएका थिए । मङ्गलबार काठमाडौँ गएका उनी टिका लगाएर फर्किने क्रममा दुर्घटनामा परेका हुन् । मृतकको शवलाई पोष्टमार्टमका लागि उदयपुर जिल्ला अस्पतालमा राखिएको छ ।
पोष्टमार्टमपछि उनको शवलाई धनकुटा ल्याउने तयारी छ ।

संगालोखबर 






















