
विराटनगर । विराटनगरको पिपल चोकमा चोरी गरेर भाग्ने क्रममा गेटमै चोर अड्किएपछि प्रहरीले उद्धार गरेर निकाल्नु परेको छ । पिपल चोकस्थित उपाय कुरियरको अफिसमा गएराती चोरी गर्न पसेका धनुषाको लक्ष्मीनिहा घर भई सुनसरीको दुहबी बस्दै आएका २३ वर्षीय विकास कुमार झा भाग्ने क्रममा सोही घरको गेटमा अड्किएका हुन् ।
गेट माथिबाट नाघेर बाहिर भाग्ने क्रममा गेटको घोचा उनको पेट र कपडामा उनिएको थियो । जसका कारण बाहिर निस्किन नसकेपछि गेटमै झुन्डिरहेका थिए । बिहान स्थानीयले देखेर खवर गरेपछि पुगेको प्रहरी टोली र स्थानीयले उनलाई गेटबाट उद्धार गरेर निकालेका हुन् । लागूऔषधको नसामा समेत रहेका उनी घाइते अवस्थामा रहेकाले उपचारका लागि कोशी अस्पताल पठाइएको मोरङका प्रहरी प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।
उनले उपायको अफिसबाट फ्रिज निकालेर गेट छेउमा पुर्याएको भेटिएको छ । सोही फ्रिज गेट माथिबाट कटाएर बाहिर निकाल्न खोज्ने क्रममा उनी आफै अड्किएको अनुमान गरिएको छ । प्रहरीका अनुसार लागूऔषध सेवनका कारण उनी यसअघि सुधार केन्द्रमा पनि बसेर निस्किएका थिए ।

संगालोखबर 
























