
विराटनगर । विराटनगरको अर्किड कलेजले अतिरिक्त क्रियाकलाप (इसिए) अन्तर्गत विभिन्न क्लबहरू गठन गरेको छ । कक्षाकोठाको पठन-पाठनभन्दा बाहिर गएर विद्यार्थीहरूको सर्वाङ्गीण विकास गराउने उद्देश्यका क्लबहरू गठन गरिएको हो ।
विद्यार्थीभित्र लुकेका प्रतिभा उजागर गर्न, उनीहरूको इच्छा र अभिरुचिसँग जोडिएर काम गर्न तथा जीवनोपयोगी आधारभूत सीपहरू विकास गर्ने लक्ष्यसहित क्लबहरू गठन गरिएको कलेजका प्रिन्सिपल मनिष भट्टराईले जानकारी दिए ।
कलेजमा जीवन्त समुदाय निर्माण, नवीनताको प्रवर्द्धन, नेतृत्व क्षमताको अभिवृद्धि र सहकार्यमा आधारित सिकाइलाई प्राथमिकता दिइएको प्रिन्सिपल भट्टराईले बताए ।
विद्यार्थीहरूले आफ्नो व्यक्तिगत तथा व्यावसायिक क्षमता अभिवृद्धिका लागि विविध विधाका क्लबहरू छनोट गर्न सक्ने व्यवस्था मिलाइएको कलेजले जनाएको छ ।
जसअन्तर्गत म्युजिक एन्ड डान्स, डिजिटल मिडिया एन्ड ब्रोडकास्टिङ, जर्नलिज्म, कुलिनरी आर्ट/बारिस्टा तथा बारटेन्डिङ, रोबोटिक्स एन्ड कोडिङ, रचना र कविता, पब्लिक स्पिकिङ, पर्सनालिटी डेभलपमेन्ट तथा फुटबल, भलिबल, कवड्डी, क्रिकेट र एथलेटिक्स जस्ता क्लबहरू रहेका छन् ।
कलेजले विद्यार्थीहरूलाई शैक्षिक जीवन, अध्ययनको शैली, मानसिक स्वास्थ्य, कलेज लाइफ म्यानेजमेन्ट, करियर काउन्सिलिङ र समस्या समाधानका व्यावहारिक उपायहरूबारे प्रशिक्षित गर्दै उनीहरूको सर्वाङ्गीण विकास, सिर्जनशीलता र उत्कृष्टता हासिल गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।

संगालोखबर 




















