
विराटनगर । विराटनगरको काली मन्दिरदेखि प्राचीन रंगेलीको काली मन्दिरसम्म प्रेम, समृद्धि र सद्भावको प्रतीक निशान ध्वजा यात्रा हुने भएको छ । विगत नौ वर्षदेखि हुँदै आएको प्रतीक निशान ध्वजा यात्रा कात्तिक ३ गते हुने भएको हो ।
विराटनगरबाट हातमा निशान (ध्वजा) र झण्डा लिएर करिब २३ किलोमिटरको पैदल यात्रा गरेर प्रसिद्ध रंगेलीस्थित काली मन्दिरमा निशान ध्वजा अर्पण गरिने आज पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।
विराटनगरबाट सुरु भएको यात्रा हुलकी राजमार्ग हुँदै कटहरी गाउँपालिका, रामचोक पूर्व, दादरबैरिया लगायतका स्थानमा विश्राम गर्दै रंगेली पुग्ने दशौं पैदल निशान यात्राका संयोजक मनोज कुमार अग्रवालले जानकारी दिए ।
यात्रामा करिब ८ हजार निशान ध्वजा यात्री र अन्य भक्तालु १० हजारसहित करिब १८ देखि २० हजार जनाको सहभागिता रहने आयोजकले जनाएको छ । यात्रामा सहभागी हुने निशान ध्वजा यात्रीबाट प्रतिव्यक्ति ३ सय रुपैयाँ सहभागिता शुल्क लिइनेछ भने अन्य खर्च दाताहरूबाट संकलन गरिने अग्रवालले बताए ।
यात्रा व्यवस्थापनका लागि करिब ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । यात्रा सम्पन्न भएपछि सहभागी सबैका लागि रंगेलीस्थित काली मन्दिर परिसरमा रहेको धर्मशालामा निःशुल्क प्रसादको व्यवस्था मिलाइएको निशान ध्वजा मूल व्यवस्थापन समितिले जनाएको छ ।

संगालोखबर 




















