
धनकुटा । धनकुटाका किसान तरकारी खेतीबाट आत्मनिर्भर हुन थालेका छन् । सडक सञ्जाल र आधुनिक प्रविधिको फड्कोसँगै तरकारी उत्पादन र निर्यात बढ्न थालेसँगै आम्दानी पनि बढेको हो ।
कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार गत वर्ष जिल्लाभर करिब ८ अर्बको तरकारी उत्पादन भएको छ । धनकुटामा गतवर्ष ७ अर्ब ९७ करोड ५८ लाख रुपैयाँ बराबरको तरकारी उत्पादन भएको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र राना मगरले जानकारी दिए ।
गोलभेडा ३७ हजार ४ सय, फूलकोपी १९ हजार १ सय ६८, अकबरे खोर्सानी १५ हजार ६ सय, बन्दा १४ हजार ९ सय ६०, बोडी १५ हजार, मटर १० हजार २ सय, रायो साग ६ हजार ५ सय र मुला ५ हजार ८ सय मेट्रिक टन उत्पादन भएको ज्ञान केन्द्रको तथ्याङ्क छ ।
उनका अनुसार मूल्यका आधारमा अकबरे खोर्सानी ३ अर्ब १२ करोड रुपैयाँको उत्पादन भएको हो । यस्तै गोलभेडा ९३ करोड, बोडी ७५ करोड, फूलकोपी ६१ करोड ३३ लाख, पिरो खोर्सानी ३७ करोड, प्याज ३३ करोड, मटर ३० करोड, बन्दा १५ करोड र रायो साग १३ करोड रुपैयाँ बराबरको उत्पादन भएको मगरले जानकारी दिए ।

केन्द्रका अनुसार ५ हजार ९ सय ७८ हेक्टर क्षेत्रफलमा १ लाख ५७ हजार ४ मेट्रिक टन तरकारी उत्पादन भएको हो । आर्थिक वर्ष २०८१/८२ मा १ लाख २४ हजार मेट्रिक टन तरकारी उत्पादन भएको थियो ।
केन्द्र अनुसार भोजपुर, तेह्रथुम र सङ्खुवासभाको तुलनामा धनकुटामा तरकारी उत्पादन बढी भएको हो । बजारको सहज पहुँच, सडक सञ्जाल विस्तार तथा आधुनिक प्रविधिका कारण किसान तरकारी खेतीतर्फ आकर्षित भएका छन् ।
धनकुटाको छथर जोरपाटी गाउँपालिका र महालक्ष्मी नगरपालिकाका अधिकांश तथा धनकुटा र पाख्रिबास नगरपालिकाका केही क्षेत्रमा व्यावसायिक तरकारी खेती हुँदै आएको छ ।
जिल्लामा उत्पादित तरकारी सङ्कलन केन्द्रमार्फत धरान, इटहरी, विराटनगर, दमक र बिर्तामोड तथा छिमेकी देशहरू भारत, बङ्गलादेश र भुटानसम्म निर्यात हुने गरेको छ ।

सन्तोष सुवेदी/संगालोखबर 




















