
विराटनगर । नेपाली हिन्दु धर्मावलम्बीको सबैभन्दा ठूलो चाड बडादशैं आजबाट सुरु भएको छ । आज दशैँको पहिलो दिन घटस्थापनामा जमरा राख्ने, कलश स्थापना गर्ने र दुर्गा भवानीको पूजा आराधना गर्ने गरिन्छ ।
बिहानै घर तथा पूजा कोठा सफा गरी शुद्ध स्थानमा बालुवा वा माटो राखेर जौँ छरिन्छ । विधिपूर्वक स्थापना गरिएको कलशमा दुर्गा भवानीको आह्वान गरी नौ दिनसम्म पूजा आराधना गरिन्छ । यसरी रोपिएको जौको पहेँलो जमरा विजयादशमीका दिन टीका र प्रसादसँगै मान्यजनबाट ग्रहण गर्ने धार्मिक परम्परा छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष घटस्थापनाको उत्तम साइत बिहान ११ बजेर ४७ मिनेटमा रहेको छ । चित्रा नक्षत्र परेकाले अभिजित् मुहूर्तलाई आधार मानेर उक्त साइत निर्धारण गरिएको समितिले जनाएको छ ।
दसैँलाई धार्मिक आस्था, पारिवारिक भेटघाट र सामाजिक सद्भावको पर्वका रूपमा लिइन्छ । रोजगारी, अध्ययन तथा विभिन्न कामका लागि घरबाहिर रहेका नेपाली दसैँ मनाउन आफ्नो जन्मथलो फर्कने क्रम पनि सुरु भएको छ ।
नवरात्रका नौ दिन महाकाली, महालक्ष्मी र महासरस्वतीसहित नवदुर्गाका विभिन्न स्वरूपको पूजा गरिन्छ । पहिलो दिन शैलपुत्रीबाट सुरु हुने पूजा नवौँ दिन सिद्धिदात्रीसम्म पुग्छ । शक्तिकी प्रतीक दुर्गा भवानीको आराधनाले असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजय हुने धार्मिक विश्वास छ ।
दसैँको सातौँ दिन फूलपाती भित्र्याउने, महाअष्टमी र महानवमीमा विशेष पूजा गर्ने तथा विजयादशमीमा टीका र जमरा लगाउने परम्परा छ । यस अवधिमा देशभरका शक्तिपीठमा दर्शनार्थीको भिड लाग्ने गर्छ । काठमाडौंको हनुमानढोका दरबारस्थित दसैँ घरमा पनि वैदिक विधिअनुसार जमरा राखेर दुर्गा भवानीको विशेष पूजा सुरु गरिन्छ ।
यस वर्ष विजयादशमी कात्तिक ४ गते बुधबार परेको छ । समितिका अनुसार त्यस दिन देवी विसर्जनको साइत बिहान ८ बजेर ४९ मिनेटमा र टीका तथा जमरा ग्रहणका लागि उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा रहेको छ ।

संगालोखबर 




















