
विराटनगर । प्रथम संस्करणको ‘इसोनर्म फास्ट ४० फुटसल कप २०२६’ को उपाधि आयोजक गोर्खा लेजेन्ड वारियर फुटसल क्लबले जितेको छ ।
विराटनगरस्थित जेएनएल फुटसलमा भएको फाइनल खेलमा एलएलएफसी फुटसल टिमलाई ३-० गोल अन्तरले पराजित गर्दै आयोजक टिमले उपाधि हात पारेको हो ।
उपाधिसँगै आयोजक टिमले नगद ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता एलएलएफसीले नगद २२ हजार २ सय २२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।

आयोजक टिमले सेमिफाइनलमा विराट मेडिकल कलेजको चिकित्सक टिमलाई हराएर फाइनलमा पुगेको थियो । त्यस्तै एलएलएफसी फुटसल टिमले सेमिफाइनलमा बीपी कोइराला हस्पिटल कन्सलटेन्ट टिमलाई हराएर फाइनल यात्रा तय गरेको थियो ।
चिकित्सक र स्वास्थ्य व्यवसायीहरूबीच आपसी भाइचारा, सद्भाव र मनोरञ्जन अभिवृद्धि गर्ने उद्देश्यसहित फुटसल प्रतियोगिता आयोजना गरिएको आयोजक क्लबका अध्यक्ष धिरेन शमशेर कुवँरले बताए । प्रतियोगितामा मोरङ र सुनसरीका स्वास्थ्य व्यवसायी तथा चिकित्सकसहितका कुल १५ टिम सहभागि थिए ।

संगालोखबर 




















