
धनकुटा । बडादशैंको पहिलो दिन आज धनकुटाको निशान भगवती मन्दिरमा पनि जमरा राखिएको छ । आज बिहान ११ः४७ को उत्तम साइतमा घटस्थापना गरी जमरा राखिएको हो ।
निशान भगवती मन्दिरमा वि.सं. १८३१ सालदेखि निरन्तर जमरा राख्ने गरिएको छ । विशेष पुजा-आराधाना गरि विधिपूर्वक जमरा राखिएको मन्दिरका पुजारी चिरञ्जीवी सापकोटाले जानकारी दिए ।

आज राखिएको जमरा दशैँको टीकाको दिन देवीको प्रसादको रूपमा ग्रहण गरिन्छ । मन्दिरमा धनकुटा बजारवासीले पनि जमरा राखेका छन् । विजया दशमीका दिन उक्त जमरा स्थानीयलाई वितरण गरिन्छ ।
मन्दिरमा नौ दिनसम्म दैनिक पुजा-आरधना र पाठपारायण हुने पुजारी सापकोटाले बताए । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्धेवीभागवत र अन्य देवी स्तोत्रको पाठ पारायण गरिन्छ ।

पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्माचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता देवीको पुजा गर्ने गरिएको छ । यस्तै छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिने पुजारी सापकोटाले जानकारी दिए ।




तस्बिर : सन्तोष सुवेदी/संगालोखबर

सन्तोष सुवेदी/संगालोखबर 




















