मोहन ढकाल/संगालोखबर


विराटनगर । असोज १८ गते आइतबार दिउँसो सुमन गुरागाईंले विराटनगर-६ सरोचियास्थित शैलेश मन्दिर अगाडिको सडकमा मोटरसाइकल पार्किङ गरे । चाबी गोजीमा राखेर उनी आफ्नो कामतर्फ लागे ।

तर काम सकेर फर्कँदा उनको मोटरसाइकल चोरी भइसकेको हुन्छ । सिसी क्यामेरा फुटेज अनुसार दिउँसो करिब ३ः३० बजे उनको प्र. १-०२-०६० प ४६७७ नम्बरको मोटरसाइकल चोरी भएको देखिन्छ ।

फुटेजमा एक जना मानिस केही समय मोटरसाइकल राखेको स्थान वरिपरि घुमेको देखिन्छ । मोटरसाइकल राखेको स्थान नजिक मानिसहरूको भीडभाड छ । तर भीड हट्दै गएपछि ती व्यक्तिले कुनै माध्यमबाट मोटरसाइकल स्टार्ट गर्छन् र लिएर हिँड्छन् ।

सोही दिन विराटनगरको न्युरो अस्पताल छेउको सडकमा पार्किङ गरेर राखिएको मोटरसाइकल पनि चोरी भएको थियो । अस्पतालमा उपचारका लागि आएका झापाको झापा गाउँपालिका-१ का घनश्याम सिटौलाको प १-०१-०१५ प ९८४६ नम्बरको मोटरसाइकल दिउँसो १ बजेतिर चोरी भएको सिसी क्यामेरा फुटेजमा देखिन्छ ।

यी केही प्रतिनिधिमूलक घटना मात्रै हुन् । विराटनगरसहित मोरङका विभिन्न स्थानबाट मोटरसाइकल चोरीका घटना बढिरहेका छन् । चोरी भएका मोटरसाइकल भेटिने सम्भावना पनि निक्कै कम हुने प्रहरीको तथ्याङ्कले देखाउँछ ।

मोरङ प्रहरीको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा मोटरसाइकल हराएका १४२ वटा निवेदन परेका थिए । जसमध्ये १८ वटा मोटरसाइकल मात्रै फेला परेका छन् । भेटिएका मोटरसाइकल सम्बन्धित धनीलाई बुझाइसकिएको मोरङका प्रहरी प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए । प्रहरीका अनुसार मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा पक्राउ परेका २६ जनाविरुद्ध मुद्दा दर्ता गरिएको थियो ।

यस्तै चालू आर्थिक वर्षको हालसम्म ३८ वटा मोटरसाइकल चोरी भएको निवेदन प्रहरीमा दर्ता भएका छन् । जसमध्ये ४ वटा मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाइसकिएको डीएसपी मिश्रले जानकारी दिए । मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा पक्राउ परेका ७ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ ।

हराएका मोटरसाइकलको खोजी भइरहेपनि फेला पार्न कठिन भएको प्रहरीले जनाएको छ । ‘सीमा नजिक भएका कारण चोरी भएका धेरैजसो मोटरसाइकल भारत पु¥याइने गरेको पाइन्छ । यस्तै स्वरुप परिवर्तन गर्ने तथा नम्बर परिवर्तन गर्ने गरेको पाइन्छ’, डीएसपी मिश्रले संगालोखबरसँग भने, ‘जसले गर्दा केही समस्या छ । सीमा पारी नपु¥याइएका मोटरसाइकल विभिन्न माध्यमबाट खोजी गर्दा केही भेटिन्छन् ।’

चोरी भएको अनुपातमा फेला पर्ने अनुपात कम रहेको उनले बताए । उनका अनुसार चोरी गरेर भारत पु¥याएर सस्तोमा मोटरसाइकल बिक्री गर्ने गरेको पाइएको छ । ‘पारीको सुरक्षा निकायसँग पनि समन्वय गरेका छौं’, उनले भने, ‘पारी पु¥याइने मोटरसाइकल फेला पार्ने गरी योजना बनाएका छौं । मोटरसाइकल चोरीमा भारतीय नागरिकको पनि संलग्नता देखिन्छ ।’

मोटरसाइकल चोरीमा गिरोह नै संलग्न हुने गरेको उनले बताए । चोरीमा संलग्न गिरोहसम्म पुग्न सूक्ष्म अनुसन्धान भइरहेको डीएसपी मिश्रले जानकारी दिए । मोटरसाइकल पार्किङ गर्दा विशेष ध्यान दिन उनले आग्रह गरे ।

‘मोटरसाइकल पार्किङ गर्दा सिसी क्यामेराले क्याप्चर गर्ने ठाउँमा राख्दा हराएको खण्डमा पनि अनुसन्धानमा सजिलो हुन्छ’, उनले भने, ‘सिसी क्यामेराको निगरानीदेखि बाहिर राखिएका मोटरसाइकल बढी चोरी भएको रेकर्डले देखाउँछ । जसका कारण बाइक धनीहरू सचेत हुनुपर्ने देखिन्छ ।’

पक्राउ परेकाहरूले गिरोहका बारेमा नखुलाउँदा गिरोहसम्म पुग्न समस्या हुनेगरेको उनले बताए । उनीहरूले नम्बरको माध्यमबाट एक-आपसमा कुराकानी नगर्ने भएकाले पनि गिरोह पत्ता लगाउन कठिन हुने गरेको उनले उल्लेख गरे ।

‘नम्बरबाट एक-आपसमा कुरा नगर्ने र पक्राउ परेका व्यक्तिले गिरोहका बारेमा नबताउँदा गिरोहसम्म पुग्न नसक्दा अनुसन्धानमा धेरै प्रभाव परेको छ’, उनले थपे, ‘गिरोहसम्म पुग्न योजना बनाएरै काम गरिरहेका छौं । गिरोह पत्ता लगाएपछि धेरै सहज हुन्छ ।’

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!