
विराटनगर । सम्भावित विपद्लाई मध्यनजर गर्दै कोशी प्रदेशमा पूर्वतयारी तथा प्रतिकार्यका लागि आवश्यक व्यवस्थापन प्रभावकारी बनाउने निर्णय गरिएको छ ।
प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिका अध्यक्ष कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गोम्बु शेर्पाको अध्यक्षतामा बसेको बैठकले विपद्का समयमा उच्च सतर्कता अपनाउन आवश्यक श्रोत, साधन, जनशक्ति, उपकरण तयारी अवस्थामा राख्ने निर्णय गरेको हो ।
बैठकमा प्रदेशस्थित सबै मन्त्रालयका सचिवहरू तथा प्रदेशस्थित चारवटै सुरक्षा निकायका प्रमुखहरूको सहभागिता थियो । बैठकमा विपद्का समयमा तत्काल उद्धार तथा राहतका काम सञ्चालन गर्न सुरक्षा निकाय, स्थानीय तह र सम्बन्धित निकायलाई तयारी अवस्थामा राख्ने निर्णय भएको छ ।
बैठकले सम्भावित विपद्का सम्बन्धमा आवश्यकताअनुसार पूर्वसूचना जारी गर्न प्रदेशस्थित सबै सुरक्षा निकायलाई निर्देशन दिइने भएको छ ।
त्यस्तै, प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिबाट स्वीकृत मनसुन पूर्वतयारी तथा प्रतिकार्य प्रदेश कार्ययोजना, २०८३ मा उल्लेखित जोखिमयुक्त बस्ती तथा घर स्थानान्तरणसम्बन्धी प्रबन्ध मिलाउन तथा उच्च सतर्कता अपनाउन जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति, स्थानीय तह र सुरक्षा निकायलाई पत्राचार गरिने निर्णय भएको छ ।
जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति, स्थानीय तह तथा सुरक्षा निकायबाट माग भई आएमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा रहेका विपद् प्रतिकार्यसम्बन्धी सामग्री आवश्यकताअनुसार सम्बन्धित निकायलाई दिइने बैठकले निर्णय गरेको छ ।

संगालोखबर 
















