
विराटनगर । मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभावसँगै वर्षाको सम्भावना बढेको जनाएको छ । आज साँझ बुलेटिन जारी गर्दै महाशाखाले कोशीसहित विभिन्न प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको हो ।
बङ्गालको खाडीमा बनेको बलियो न्यून चापीय क्षेत्र (डिप डिप्रेसन) हाल भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिशा आसपासको क्षेत्रमा रहेको छ । यो प्रणाली सुरुमा आफ्नो तीव्रता कायम राख्दै उत्तर-पश्चिमतर्फ सर्ने र त्यसपछिको २४ घण्टामा उत्तर-उत्तरपश्चिमतर्फ अघि बढ्दै क्रमशः कमजोर हुने महाशाखाले विश्लेषण गरेको छ ।
आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । विशेष गरी लुम्बिनी र गण्डकी प्रदेशका एक/दुई स्थानमा अति भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ । यस्तै मधेस प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
मधेस प्रदेशका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानमा तीव्र हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । वर्षा र हावाहुरीका कारण पहाडी तथा तटीय क्षेत्रहरूमा गेग्रान बहाव, बाढी, पहिरो र भू-क्षयजस्ता प्राकृतिक प्रकोपको जोखिम उच्च रहने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

संगालोखबर 
















